ईयूद्वारा नेपाली उडान प्रतिबन्ध हटाउने - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

ईयूद्वारा नेपाली उडान प्रतिबन्ध हटाउने



काठमाडौं- नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको युरोपेली संघ (ईयू) ले उडान खुला गर्न सकिने संकेत दिएको छ।

हवाई सुरक्षामा प्रश्न उठाउँदै सात वर्षअघि नेपाली हवाई सेवा प्रदायकलाई उडान प्रतिबन्ध लगाउने गरी सुरक्षा सूचीमा राखेको ईयूले नेपालको पछिल्लो समयको सुधारलाई प्रशंसा पनि गरेको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै ईयूले हवाई सुरक्षामा देखिएको चुनौती समाधान गर्न नेपाल सरकारले देखाएको प्रतिबद्धताका कारण आएको सुधारको प्रशंसा गरेको हो।

‘नयाँ हवाई उड्डयन विधेयक संसद्मा दर्ता गराएको सहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार छ’, विज्ञप्तिमा उल्लेख छ।
दर्ता भएको विधेयकको व्यवस्था अनुसार कार्यान्वयनमा ल्याउनु महत्वपूर्ण हुने पनि ईयूले जनाएको छ।

नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुने ईयूले उल्लेख गरेको छ । खासगरी संसद्मा दर्ता भएको विधेयकले सुरक्षा सूचीबाट हटाउन लागू हुने तीनवटा मापदण्ड कार्यान्वयनमा लैजान सकिने पनि ईयूले स्पष्ट पारेको छ । विज्ञप्ति अनुसार ब्रसेल्समा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पछिल्लो पटक भएका सुधारका विषयमा प्राविधिक छलफल अघि बढाउन सकिने बाटो यसले खुला गरेको छ।

त्यसैगरी हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए नभएको जानकारी लिन महानिर्देशक सहितको टोलीले नेपालमा भ्रमण गर्ने र नियोगले तयार गरेको प्रस्तावका आधारमा युनियनको हवाई सुरक्षा समितिले सुरक्षा सूचीबाट हटाउन सकिने प्रक्रिया पूरा हुनेछ।

ईयूले नेपाललाई सन् २०१३ डिसेम्बर ५ देखि सुरक्षा सूचीमा राखेको थियो । सुरक्षा सूचीका कारण नेपाली हवाई सेवा प्रदायकले युरोप उडान भर्न सकेका छैनन् । यसले नेपालबाट युरोपमा सीधा सम्पर्क नहुँदा पर्यटक आवागमनमा पनि समस्या हुँदै आएको छ।