गठबन्धनसँग माधव नेपालले भने: राजनीतिक नियुक्त सल्लाहमा गरौँला - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

गठबन्धनसँग माधव नेपालले भने: राजनीतिक नियुक्त सल्लाहमा गरौँला



काठमाडौं- सत्ता गठबन्धनसंग नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले तत्काल राजनीतिक नियुक्ति नगर्न आग्रह गरेका छन् । नेपाल समुहले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू छलफल र सल्लाहमा गर्न आग्रह समेत गरेको बताइएको छ ।

तत्कालिन केपी ओली सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिएको नेपाल समुहले नियुक्ति गर्न भने केहि समय कुर्न आग्रह गरेको छ । नयाँ नियुक्तिमा केही दिन पर्खिन नेपाल पक्षले आग्रह गरेको सत्तारुढ कार्यदलका एक सदस्यले बताएका छन् ।

शनिबार शंखमुलस्थित ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले ‘यत्रो दुखः गरेर ल्याएको सरकारले राजनीतिक नियुक्तिहरू गर्दा आफूहरूले पनि आफ्ना कार्यकर्तालाई न्याय गर्नुपर्ने’ बताएका थिए ।

यसबीचमा नेपालनिकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई भेटेर आफूहरू एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न भनेका हुन् ।

ओली सरकारका पालामा नियुक्त भएका कम्तिमा १० जना राजदूत पनि फिर्ता बोलाउने तयारी सरकारको छ । ओलीको पालामा नियुक्ति सिफारिस भएर पनि नियुक्त हुन बाँकी रहेका १२ जना राजदूतमा समेत अब गठबन्धनले भागबण्डा गर्ने भएका छन् ।