प्रचण्डलाई नेम्वाङले भनेः ओली धेरै चिन्तित हुनुभयो, सबै तपाईंको हातमा छ
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ आइतबार बिहानै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगे ।
आइताबार दिउसो बस्ने स्थायी कमिटी बैठक कसरी टार्ने वा आफ्नो पक्षमा पार्ने रणनीतिमा रहेका बालुवाटार निकट नेताहरूको लगातार दौडधुप चलिरहेका बेला नेम्वाङ खुमलटार पुगेका हुन् ।
दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठक अगाडि नेता नेम्वाङले प्रचण्डसँग भेट गरी प्रधानमन्त्री केपी शर्मा ओली निकै चिन्तित भएको बताएका छन् । उनी प्रधानमन्त्रीको दूतको रुपमा प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
संसदीय दलका उपनेता समेत रहेका नेता नेम्वाङले प्रचण्डसमक्ष प्रधानमन्त्री अोलीको धारणा सुनाएका थिए । उनले पार्टी एकता जोगाउन प्रधानमन्त्री चिन्तित रहेको प्रचण्डलाई सुनाएका थिए ।
नेम्वाङले भने, ‘पार्टी एकता जोगाउन प्रधानमन्त्री चिन्तित हुनुहुन्छ । विभाजन रोक्न तपाई (प्रचण्ड)को भूमिका पनि अपरिहार्य छ ।’
जवाफमा अध्यक्ष प्रचण्डले चिन्तित मात्रै भएर नपुग्ने बताउँदै एकता जोगाउन आफू झन् बढी चिन्तित रहेको बताएका थिए ।
प्रचण्डले चिन्ता अर्कै कुरा भएको र घमण्ड अर्कै कुरा भएको भन्दै घमण्ड त्याग्न सुझाव दिएका थिए ।