जुलुशप्रति व्यंग्य गर्दै शंकर पाेखरेलले भने: वेमौसमी बाजाको कर्कस धुन प्रिय हुँदैन
काठमाडाैं- प्रदेश ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य शंकर पाेखरेलले धर्ना र जुलुसप्रति व्यंग्य गर्दै वेमाैसमी बाजाकाे कर्कस धुन कसैलाई प्रिय नहुने बताएका छन् ।
देशमा जनता विपत्तिमा रहेका बेला नेकपाभित्रकाे विवादलाई लिएर सडकमा गरिएको धर्ना र जुलुस समय सापेक्ष नभएको भन्दै सामाजिक संजालमा फेसबुकमा उनले यस्ताे लेखेका हुन् ।
उनले पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षावाट नै उज्यालो भविष्य सुनिश्चित रहेकाे भन्दै पार्टी एकताको रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गर्नुपर्ने बताए ।
पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथ सहयोग रहने विश्वासका साथ आफू कार्यक्षेत्र वुटवल फर्किएको उनले बताए ।
पार्टी एकतालाई दुर्घटनामा पर्नवाट जोगाउदै संवादकाे प्रकृयालाई अघि वढाउन भूमिका खेल्नुहुने सबै धन्यवादको पात्र हुने भन्दै उनले निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन नसक्ने बताएका छन् ।
यस्तै उनले नेपाल भारतबीचको सिमा विवाद समाधान गर्ने उद्देश्यले पालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको बताएका छन् ।
नक्शा प्रकाशनपछि छिमेकी भारत त्यसवाट आक्रोसित बनेका वेलामा त्यसको नेतृत्वगर्ने प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एक भएर साथ दिने वेलामा पार्टीमै विवाद देखिनु राम्रो नभएकाे उनले बताए
उनले जनता कोभिड-१९ र वाढी पहिरोको त्रास र पीडामा रहेकाले उनीहरुको सेवा गर्नु सबैको कर्तव्य रहेकाे बताए । अध्यक्षद्वयले परिस्थितिको गंभीरतालाई मननगरी चालु वैठकलाई एक साताका लागि स्थगन गरेकाे भन्दै उनले यसलाई सदुपयोग गर्दै धर्ना, जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गर्न माग गरेका छन् ।
धर्ना र जुलुसप्रति संकेत गर्दै वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय नहुने बताएका छन् ।