प्रचण्ड र पौडेलले सम्बोधन गर्दै छन नेकपाको शुभकामना कार्यक्रम बुटवलमा अाज
बुटवल– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज (शनिबार) बुटवलमा शुभकामना कार्यक्रम गर्दैछ । बडादशैं, तिहार, नेपाल संवत् ११३९, छठ, ल्होसारलगायतका चाडपर्वका उपलक्ष्यमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल लगायतका नेताहरु सहभागी हुने भएका छन् ।
आयोजक नेकपा रुपन्देहीले प्रधानमन्त्री ओली पनि आउने बताए पनि उनी आउने सम्भावना कम छ । ओली अहिले निवासमै स्वास्थ्यलाभ गरिरहेका छन् । कार्यक्रममा पाँच नम्बर प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व रहने नेकपा नेताहरुले बताएका छन् ।
‘नयाँ संविधान लागू भएर तीनवटै निर्वाचन सम्पन्न गरी मुलुक समृद्धिको अभियानमा हिँँडिरहेको वर्तमान अवस्थामा राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा विकासका साझेदार मित्रहरुका बिचमा बलियो एकता र आपसी विश्वास अभिवृद्धि गर्नुपर्ने छ’, पत्रकार भेटघाटमा नेकपाका नेताहरुले सोही कामका लागि शुभकामना कार्यक्रम राखिएको जानकारी गराए ।
नेकपाले नेपालीहरुले मनाउँदै आएका चाडपर्व र साँस्कृतिक पर्वहरुका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आइरहेको छ । उक्त शुभकामना कार्यक्रममा पार्टीका नेता कार्यकर्ता तथा आम जनसमुदायहरु, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका सांसदहरु, उद्योगी ब्यापारी, शिक्षक, प्राध्यापक, विद्यार्थी, कलाकार, मजदुर, युवा, महिला, पत्रकार, विभिन्न कार्यालयका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न पार्टीका नेताहरु, विभिन्न पेशा तथा समुदायका विशिष्ट व्यक्तित्वहरुलगायतलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा १ लाख नेता कार्यकता सहभागी हुने आयोजकले बताएका छन् ।