खेल प्रचण्डको, पर्दामा माधव नेपाल - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

खेल प्रचण्डको, पर्दामा माधव नेपाल



काठमाडौं । सात महिना अगाडी बनेको दुई तिहाईको सरकारले यो अवधिमा गरेका केहि गम्भीर त्रुटिले जनताको नजरमा कमजोर बनेको छ । यति मात्र होइन एकताको छोटो समयमै नेकपाकै बरिष्ठ नेताहरुले नेतृत्वप्रति धावा बोल्दा एक प्रकारको भूकम्प नै गएको देखिन्छ नेकपामा ।

पार्टी अध्यक्षद्धय ओली र प्रचण्ड देश बाहिर हुँदासमेत आफूलाई कार्यवाहकको जिम्मेवारी नदिएकोले नेता नेपाल अहिले निकै नै असन्तुष्ट छन् । त्यही आक्रोशमा उनले शुक्रबार आफू पक्षका नेताहरुको छुट्टै भेला आयोजना गरेका थिए ।

भारत भ्रमणपछि दाहाल र ओलीबीच केही तनावको सम्बन्ध देखा परेको र त्यही बीचमा नेपालले आयोजना गरेको चियापानलाई दाहाल तथा ओलीबीचको बढ्दो दूरी र ओली विकल्पको खोजीको प्रारम्भिक प्रयासका रुपमा समेत हेरिएको छ। असोज ५ गते पार्टी नेतृत्वले स्थायी कमिटिलाई भूमिकाविहीन बनाएर प्रदेश नेतृत्व छनौट गरेको विषय नेपालको चियापानमा प्रमुख रुपमा प्रस्तुत भएको थियो।

उता दिल्लीको भ्रमणबाट अति उत्साहित दाहालपत्नी सीताको उपचारमा बुधबार सिंगापुर जानुअघि प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको खबरले परिआएमा ओली विरुद्धको मोर्चामा प्रतिपक्षीलाई पनि सामेल गर्नुपर्ने खेलमा ओलीसँग असन्तुष्टहरु लागेको अड्कलबाजी पनि हुन थालेको छ।

भेलामा नेता वामदेव गौतमपनि पुगेका थिए । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यतिवेला अमेरिकामा छन् । यही मौकामा उनले यस्तो गोप्य भेला आयोजना गरेर आफूले अब छिट्टै पार्टीभित्र विद्रोह छेड्ने चेतावनीयुक्त सन्देश दिन खोजेका छन् ।

चियापानमा सरिक अर्का प्रभावशाली नेता घनश्याम भुसाललले सरकारबाट धेरै अपेक्षा रहेको तर त्यो भन्दा फरकबाटोमा सरकार चलेको भन्दै असन्तुष्टिलाई अरु तीव्रता दिएका थिए।

नेता नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता गौतमकै सहमतिमा यस्तो भेला आयोजना गरेर ओलीविरुद्ध धावा बोलेको ओली पक्षधर नेताहरुको गुनासो छ । त्यही भएर होला बरिष्ठ नेता नेपालविरुद्ध पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरु आक्रमक रुपमा प्रस्तुत भएका छन्।

पार्टी अध्यक्ष ओलीको विरोधमा उत्रेका नेपाललाई लक्षित गरी ओली समूहले समाजिक सञ्जालमार्फत नेपालमाथि आक्रमण शुरु गरेका छन्।

अध्यक्ष ओलीनिकट उच्च स्रोतले दिएको जानकारी अनुसार ओली अहिले नेता नेपालसँगमात्रै नभएर अर्का अध्यक्ष प्रचण्डसँग पनि असन्तुष्ट छन् । आफू बाहिर भएको मौका छोपेर यस्तो षड्यन्त्र गुर्न लज्जास्पद भएको ओली निकट नेताहरुको टिप्पणी छ ।

ओलीले आफू निकट नेताहरुसँग अमेरिकामा गुनासोसहितको आक्रोश पोखेका छन । म बाहिर भएको बेला यस्तो उथलपुथल हुनेगरि माधवजीले यस्तो गुट चलाउनुभयो, यो मेरो लागि सह्यै छैन । उहाँले एक्लै यस्तो गर्नुभएको होईन, यसमा प्रचण्डजीको पनि साथ छ ।

ओली अघिल्लो पटक प्रधानमन्त्री भएका बेला उनका विदेश मामिला सल्लाहकार रहेका  गोपाल खनालले एक अनलाइनमा नेपालको आलोचना गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीले नेपाली स्वार्थको नेतृत्व गरेकै धारणा बाहिरिया शक्तिलाई छटपटी भएको छ। ओलीलाई अधिनायकवादी प्रमाणित गर्ने प्रयास भएकै हो, त्यो असफल भयो। अब ओलीमाथि पार्टीभित्रैबाट दबाब सृजनाको प्रयास भएको छ, जसका ट्रेलर देखिँदैछन्।