सिके राउत नेकपा नै समाप्त पार्न आएको खुलासा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सिके राउत नेकपा नै समाप्त पार्न आएको खुलासा



काठमाडौं । मानवअधिकारवादी एवं नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडीले आजका दिनसम्म सिके राउतले विखण्डनकारी गतिविधि नछाडेको जिकिर गरेका छन् । राउतको नियत सफा नदेखिएको बताउँदै पहाडीले राउतसँगको सरकारको सहमतिबाट केपी ओलीको मात्रै होइन, नेकपाकै भविश्य समाप्न हुन सक्ने जोखिमसमेत औंल्याए ।

सिके राउतसँग शुक्रबार सरकारले गरेको सहमतिलाई पहाडीले ‘अँध्यारो कोठामा बसेर गरिएको अपारदर्शी सहमति’ को संज्ञा दिए । राउतसँग सहमति गर्दा राज्यले केटाकेटीपन देखाएको उनको प्रतिक्रिया छ ।

गणतन्त्रवादी अगुवा पहाडीले भने- ‘सिके राउतले आफ्नो सम्वोधनमा कहीँ पनि विखण्डनप्रति पश्चाताप वा विखण्डनकारी गतिविधि छाडें भनेका छैनन् । उल्टो हिजो जे गरें, ठीकै गरें भन्ने आशय व्यक्त भएको छ ।’

सरकारले शुक्रबार सिके राउतसँग गरेको ११ बुँदे सहमतिका विषयमा पहाडीको प्रक्रिया उनकै शब्दमा-

यो सहमति सिके राउतको नियतमा भर पर्छ । नियत सफा छ भने यसलाई स्वागतयोग्य हो भन्नुपर्ला । तर, सिके राउतको नियत सफा देखिँदैन । कहीँ राज्यका तर्फबाट सरकारले केटाकेटीपन त देखाएन ? यति गम्भीर मामिलालाई हल्का रुपमा त लिएन ? आशंकाहरु छन् ।

म यसमा थपेर, जोड दिएर के भन्न चाहन्छु भने राउत औंसीमा के बोल्छन्, पूणिर्मा के बोल्छन्, ठेगान हुँदैन । बोलीको ठेगान नभएको मान्छेले यसलाई विखण्डनकै अभियानको जीत भनेर व्याख्या गर्न सुरु गरेका छन्, यो दुर्भाग्यपूर्ण छ । अहिले पनि राउतको नियत सफा देखिँदैन । त्यसैले पूणिर्मामा भएको सहमति औंसीमा नटुटोस् ।

सार्वभौम सत्ताको कुरामा विखण्डनको कृत्यलाई संसारभरि स्वीकार गरिँदैन । त्यसैले अहिले जुन प्रचारबाजी र हौवा गरिँदैछ, यसले गर्दाखेरि राज्यको केटाकेटीपन देखियो । सरकारको बचकनापन देखियो । सरकारले यसलाई जुन प्रकारले महत्व दिएको छ, यो त आपत्तिजनक छ । भयानक आपत्तिजनक के छ भने एउटा विखण्डनकारीसँग भएको सहमतिलाई अँध्यारो कोठामा बसेर विनापारदर्शिता, पार्टीहरुको अनुमोदन वा परामर्शविना जसरी गरियो नि, यो कुराले नेकपा नै समाप्त हुन सक्छ ।

सिके राउतले विखण्डनकारी गतिविधि नै छाडेको हो भने पनि प्रधानमन्त्री र पुष्पकमल दाहाल बसेर त्यत्रो प्रशंसामा फूलबुट्टा भर्नुपर्ने जरुरी नै थिएन । वास्तवमा यो त सरकारको हल्कापन भयो । पृथकतावादलाई छाडेकै भए पनि यत्रो महत्व दिनु जरुरी थिएन । गृहमन्त्रीबाट गराएको भए भइहाल्थ्यो, प्रधानमन्त्री नै बस्नु जरुरी थिएन ।

सिके राउतले यसलाई दुरुपयोग गरे भने म त भन्छु ओलीमात्रै होइन, नेकपाकै भविश्य समाप्त हुन सक्छ । विखण्डनको कुरामा राम्रो सन्देश के गएन भने हिजो अदालतले छाडे पनि विखण्डनकारी गतिविधि र घृणाको अभिव्यक्ति राउतले छाडेकै छैनन् । काहीँ पनि छाडेका छैनन् । अझ जनमत संग्रहका लागि व्याख्या गर्दैछन् ।

मेरो विचारमा सिके राउतले आफ्नो ‘कन्सिचुएन्सी’ विस्तार गर्न राज्यसँग यसलाई प्रयोग गर्ने सम्भावना छ । राज्यसँगै सहमति भएको भनेर, आफ्नो उपलब्धी भएको देखाएर आफ्ना धेरै मान्छेहरु छुटाउने र आफ्नो ‘कन्सिचुएन्सी’ विस्तार गर्ने रुपमा यसलाई प्रयोग गरेको देखिन्छ ।