नेकपा रुपन्देहीका सचिवले दिए एकाएक राजीनामा - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

नेकपा रुपन्देहीका सचिवले दिए एकाएक राजीनामा



नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकता घोषणा भएकै दिन सोमबार नै रुपन्देहीका सचिव दधिराम न्यौपानेले पदबाट राजीनामा दिएका छन्।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणका क्रममा भएको सहमती अनुसार न्यौपानेले सोमबार मात्रै रुपन्देही जिल्ला सचिवको जिम्मेवारी पाएका थिए । तर न्यौपानेले जिम्मेवारी पाएलगत्तै सोमबार नै पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएको बताएका छन् ।

पार्टी एकताको मर्म र भावनालाई असर नपर्ने गरी राजीनामा दिएको उनले बताए ।

‘हो मैले हिजो नै राजीनामा पठाएको हुँ, तर मनोनयनप्रति असन्तुष्टि वा असहमति होइन, उनले भने, ‘केही प्राविधिक कारणले सचिव मनोनित भएको हुँ, मेरो राजीनामाले पार्टी एकतामा असर पर्दैन ।’

उनले पार्टी अध्यक्षलाई राजीनामा बुझाइसकेको र पार्टी केन्द्रले गर्ने निर्णय मान्न आफू तयार रहेको बताए ।

‘मैले राजीनामा बुझाएको छु केन्द्रले स्वीकृत गरे पनि ठिक छ नगरे पनि समस्या छैन, पार्टीले राजीनामा स्वीकृत हुँदैन काम गर्नुपर्छ भन्यो भने पनि तयार छु,’ उनले थपे ।

पार्टीको केन्द्रीय सदस्य समेत रहेका न्यौपाने पार्टीको जिल्ला तहसम्मको एकीकरण प्रक्रिया टुंगो लगाउने क्रममा बनेको पछिल्लो कार्यविधिले सचिव बन्नु परेको थियो ।