नेपाल प्रहरी भन्न लाज भैसक्यो 'नेकपा प्रहरी' नाम राखौं - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

नेपाल प्रहरी भन्न लाज भैसक्यो ‘नेकपा प्रहरी’ नाम राखौं



काठमाडौं : शान्ति सुरक्षा कायम गर्ने सवालमा नेपाल प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले आक्रोश व्यक्त गरेका छन।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका एकजना सांसदले प्रहरीको भूमिकाबारे प्रश्न उठाएका हुन्। कांग्रेसका सांसद डा. अमरेश सिंहले आफ्ना नेता कार्यकर्ता कुटिँदा पनि प्रहरी रमिते बनेको आरोप लगाए।

उनले भदौ २६ गते बाँकेको खजुरामा कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमणका क्रममा घटनास्थलमै रहेको प्रहरीले केही गर्न नसकेको भन्दै आपत्ति प्रकट गरे।

नेपाल प्रहरीको नामसमेत फेर्नुपर्ने भन्दै उनले कटाक्ष गरे। ‘नेपाल प्रहरीको नाम अब नेकपा प्रहरी राखौँ’, उनले भने, ‘घटनास्थलमा प्रहरी हुँदा पनि आक्रमण रोक्न पहल गरेन। राजनीतिक निर्देशनमा यो घटना भएको हो।’

बैठकमा नेपाली कांग्रेसका अर्का सांसद गगन थापाले पनि बाँके घटनाबारे सरकारले तथ्यलाई तोडमोड गर्न खोजेको भन्दै आपत्ति जनाए । उनले गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गर्दै भने- ‘सरकारले तथ्यलाई तोडमोड गर्ने, अपराधीको नाम लुकाउने कार्य गरिरहेको छ । जुन आपत्तिजनक छ । कांग्रेसलाई यस्तो स्वीकार्य हुँदैन ।’

बाँकेको घटनाको दोषीलाई कारवाही नगर्ने बेला संसद चल्न नदिने भन्ने आफूहरुको मागलाई शीर्ष नेताहरुले ‘सरकारलाई अफ्ठेरोमा नपारौ, सरकारले जवाफ दिन्छ’ भनेर रोकेको तर सरकार भने तथ्य तोडमोडमा लागेको उनको भनाई थियो ।