नेकपाका अधिकांश नेताहरु ओली -प्रचण्ड विरुद्ध आक्रामक
काठमाडौं-शनिबारदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सोमबारदेखि सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् ।
सोमबारको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । बोल्नेमध्ये अधिकांश नेताहरु अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
बैठकमा बोल्ने क्रममा नेता घनश्याम भुसालले पार्टीमा नश्लवाद हावी भएको भन्दै सरकार र नेतृत्वको कडा आलोचना गरे । उनले पार्टी नेतृत्वको कार्यशैली र व्यवहार सच्चिनुपर्ने हुनुपर्नेमा जोड दिँदै त्यसो हुन नसके पार्टीलाई ठूलो नोक्सान पुग्नसक्ने खतरा औंल्याए ।
यस्तै नेता बामदेव गौतम आफैंले पूरक प्रस्तावको रुपमा बैठकमा पेस गरेको प्रतिवेदनको व्याख्यामा केन्द्रीत रहेका थिए । उनको प्रतिवेदनमा नेतृत्वको कडा आलोचनासहित पार्टीलाई गति दिन बुँदागत सुझाव दिइएको छ ।
यस्तै बैठकमा युवराज ज्ञवाली, मुकुन्द न्यौपाने गणेश साह, वेदुराम भुषाल र अष्ठलक्ष्मी शाक्यले पनि सरकारको कार्यशैलीको कडा रुपमा आलोचना गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा बोल्ने नेताहरुले वामदेव गौतमको पूरक प्रस्ताव समग्रमा सही भएपनि बढी नकारात्मक रहेको र सबै विषयलाई नकारात्मक रुपमा पनि लिन नहुने धारणा राखेका थिए । अर्को बैठक मंगलबार बिहान ८ देखि ११ बजेसम्म फेरि बस्ने छ ।