मध्यरातमा चामल बाँड्दै नेकपा: तरुण दलले नियन्त्रणमा लियो
फिदिम । रातिको समयमा मतदातालाइ प्रभाव पार्न चामल बाँड्दै हिँडेका नेकपाका नेताहरु चढेको गाडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् ।
मौन अवधिको समयमा खाद्य समग्रि सहित नेकपाका नेताहरु हिलिहाङ ७ तीनधारेको गाँउमा छिरेपछि बिहिबार राति ११ बजे काँग्रेस कार्यकर्ताले गाडी सहित चामल नियन्त्रणमा लिएका हुन् ।
मे १ ज २८८१ नम्बरको पिकअपमा रहेको दुई बोरा चामल सहितको खाद्य सामग्रि नेपाल तरुण दलको नेतृत्वमा काँग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएको तरुण दल अध्यक्ष सुमन लामाले जानकारी दिए ।
काँग्रेस कार्यकर्ताको नियन्त्रणमा रहेको गाडी र खाद्यसमाग्रि नेपाल प्रहरीको जिम्मामा लगाइएको छ ।
नेकपाका नेता सहित चामल बोकेर गाँउ छिरेको उक्त गाडी कात्तिक २१ गतेदेखि नेकपाबाट हिलिहाङ ७ मा वडाध्यक्षको उम्मेद्धार बनेका गेहनाथ रिजालले भाडामा लिएका हुन् ।
नेकपाका उम्मेद्धार रिजालले २५ दिनका लागि आफ्नो गाडी भाडामा लिएको चालक बिनोद तिम्सिनाले बताए । ‘एक लाख रुपैँयामा २५ दिनका लागि नेकपा उम्मेद्धारले गाडी भाडामा लिनुभएको छ,’ तिम्सिनाले भने ।
गाडी नियन्त्रण भएको स्थानमा नेकपा नेता तथा जिल्ला समन्वय समिति पाँचथरका संयोजक बिमल सापकोटाको समेत उपस्थिति थियो ।