नेकपाको आजको बैठक एकाएक स्थगित : यस्तो छ कारण

काठमाडौं । आज सोमबारका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एकाएक रोकिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच थप गृहकार्य आवश्यक परेकाले बैठक रोकिएको स्रोतले जनायो ।
प्रचण्ड र ओलीबीच पछिल्लो समय दुरी बढेसंगै आजको बैठक सर्नुलाई अर्थपूर्ण मान्न सकिने नेकपाका एक नेताले बताएका छन् ।
पार्टीका एक अध्यक्ष दाहालले व्यक्त गरेको आफू र प्रधानमन्त्री रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको नेतृत्व ओलोपालो गर्ने सहमति र पार्टी एकताका विषयमा छलफलका लागि भनेर सोमबारका लागि बैठक बोलाइएको थियो ।
दाहालले प्रधानमन्त्री ओली भारत गएका बेला प्रधानमन्त्री पद आलोपालो गर्ने सहमति भएको खुलासा गरेपछि यसले नेकपाभित्र तरंग सिर्जना भएको छ ।

