नेदरल्यान्ड्स: २ विकेटको क्षति, २८ ओभर, १११ रन
काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले दिएको २१७ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले २८ ओभरमा २ विकेटको क्षतिमा १११ रन बनाएको छ ।
नेदरल्यान्ड्सका वेस्लेय बरेसी ५१ र ड्यानियल टेर ब्राकले ३८ रन बनाएर खेलिरहेका छन् ।
नेपालका लागि दोस्रो सफलता ललित भण्डारीले दिलाएका हुन् । उनले बेन कोपरलाई १९ रनमा आउट गराए । रोहित भण्डारीले उत्कृष्ट क्याच गरे ।
यसअघि नेपालका लागि सोमपाल कामीले स्टेफन माइबुर्घालाई शुन्य रनमा नै आउट गराएका थिए ।
नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा २१६ रन बनाएको हो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए । उनले नेपालका लागि छटो अर्धशतक बनाउने खेलाडीको रेकर्ड पनि राख्न सफल भए । सोमपालले ३८ बलमा अर्धशतक बनाएका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए ।
नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै विकेट गुमाएपनि मध्यम स्कोर बनाउन सफल भएको हो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएर आउट भए । कप्तान खड्काले ६५ बलमा ५० रन पूरा गरेका थिए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।
त्यस्तै, नेपालका लागि दीपन्द्रसिंह ऐरीलाई १९ रन रनआउट हुन पुगे । सुवास खकुरेलले १९, आरिफ शेखले १६, ज्ञानेन्द्र मल्लले १३, रोहित कुमार पौडेलले ६, अनिल कुमार शाह ४ र बसन्त रेग्मी १ रनमा आउट भए ।