नेबिसङ्घ कसैको बिर्ता होइन यहाँ सक्षमले नेतृत्व पाउनु पर्छ। - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

नेबिसङ्घ कसैको बिर्ता होइन यहाँ सक्षमले नेतृत्व पाउनु पर्छ।



कर्ण अधिकारी मकाउ।

नेपाल विद्यार्थी सङ्घको चुनाव २ महिना अगाडी नै तय भई सम्पन्न हुनु पर्नेमा न त चुनाव नै गर्न सके न त विवाद रहित बनाउन सके केवल यी नेतृत्वमा रहेकाहरूले आ-आफ्नै स्वार्थ पूर्तिका लागि आ-आफ्नै प्यानलका विद्यार्थी भाइ बहिनीहरूलाई बलीका बोका बनाई एक आपसमा पार्टी कार्यालयकै गेटमा भिडन्तको माहौल सृजना गराई दिए।वर्तमान अवस्थामा काँग्रेसको नेतृत्व सम्हाली रहेका नेताहरूको सीमित स्वार्थका कारण यी कलिला मन मस्तिष्क भएका भाइ बहिनीहरूको दिमागमा गुट बन्दीको विष घोली दिएर पार्टी र भातृ संस्थालाई नै विषालु बनाई दिए।जुन विष पिएर आजकल भाइ बहिनीहरू आफ्नाले आफ्नालाई नै चिन्न नसक्ने अवस्थामा छ।पूर्व अध्यक्ष नैन सिंह महरले राजीनामा दिए सँगै ने बि सङ्घको कार्य समिति विघटन भई सकेको छ।सायद नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएर नै होला यति धेरै विकृति विसङ्गति पार्टी भित्र हाबी भएको।काँग्रेस भित्र एकले अर्काको कुरा सुन्ने पक्षमा छैनन् । जसलाई जे मन लाग्यो त्यही बोली रहेका छन् त्यही गरी रहेका छन्।यस्तो वातावरण काँग्रेस भित्र सृजित हुनु भनेको दुर्भाग्य पूर्ण कुरा हो।

नेपाली काँग्रेसको प्राय जसो सबै भातृ संस्थाहरूमा किचलो भई रहेकै छ।चाहे प्रवासको जनसम्पर्क समिति होस चाहे स्वदेशमा रहेको तरुण दल र ने बि सङ्घ नै किन नहोस्।सबैले आफ्ना मातहतका कार्यकर्तालाई जिम्मेवारी दिन चाहन्छन् जसको परिणाम हिजो सानेपामा दुई समूह बिच कुरा नमिलेर कुटाकुट भए जस्तै हो।यहाँ पार्टीको उपल्लो तहमा रहेकाहरूको दादागिरी चली रहन्छ सधैँ भरी हेपिने र चेपिने भनेको चाहिँ निष्टावान र सोझा कार्यकर्ता हुन्।न त तिनीरूले पार्टीको भातृ संस्थाको जिम्मेवारी पाउँछन् न त सम्मान नै । काँग्रेस यति धेरै पुरानो पार्टी जसको सुनौलो पानामा लेखिएको इतिहास छ तर आजकल नेताहरूको दुष्ट बिचारका कारण पार्टीलाई भडखारोमा हाल्ने काम हुँदैछ।देश कम्युनिष्टमयी छ।देशमा नेकपाको २ तिहाइको सरकार छ।उनीहरू जे चाहन्छन् त्यो पुरा गरी छाड्छन् तर काँग्रेस संसद्को दरो प्रति पक्षी भएर राम्रो कामलाई समर्थन र नराम्रो कामको विरोधमा रहेर आफ्नो छबिलाई धमिल्याउन नदिनु पर्नेमा आज आफ्नै पार्टीको भातृ संस्थाको साना तिना कुरामा अल्झिएर रडाको मच्चाई रहेको छ।अहिले संसद्मा दरो प्रतिपक्षको भूमिका त भीम रावल,माधव नेपाल र झलनाथ खनालले गरी रहेका छन्।काँग्रेसबाट संसद्मा बोलेर नेकपालाई पेल्न खोज्ने गगन थापा बाहेक अरू कोही देखिँदैन।

भोलिको सुनौलो भविष्यको परिकल्पना गर्दै दूर दराजबाट सुगममा आएर अध्ययन गर्ने भाइ बहिनीहरूलाई अध्ययन भन्दा पनि राजनीति प्यारो भएको छ।पहिला आफ्नो जीवनको सबै भन्दा महत्त्व पूर्ण कुरा अध्ययन गर्नु पर्नेमा पार्टीको झन्डा बोकेर राजनीतिमा लीन हुनेले आफ्नो भविष्यलाई उज्यालो बनाउने वा अँध्यारो त्यो उहाँहरूकै हातमा छ।विभिन्न पार्टीको भातृ सङ्गठनहरू कलेजमा स्थापना हुनु वा गर्नुको उद्देश्य राजनीति मात्र नभएर विद्यार्थीको हक हित साथै अध्ययनका लागि सहयोग गर्ने गराउने नै हो तर यो कुरा विद्यार्थीहरूले कहिले बुझेनन्।आफ्ना पार्टीका नेताहरूको पछाडि लाग्ने र ती नेताहरूकै आडमा राजनीतिमा रमाउनेहरूले न त विद्यार्थीको भविष्य सोच्छन् न त पार्टीको नै । यस्ता व्यक्तिहरू त केवल आफ्नो स्वार्थ र अवसरका लागि नेताको वरी परी रुमली रहन्छन्।

नेबि सङ्घ विगत देखि वर्तमान सम्म आई पुग्दा कहिले पनि विवाद रहित बनेर नेतृत्व चयन हुन सकेन।कहिले पुरानो संस्थापन त कहिले नयाँ संस्थापन पक्ष भन्दै विद्यार्थी नेताहरूलाई घुमाई रहे । गिरिजा बाबुको पाला देखि नै हो अझै ने बि सङ्घ विवाद तानिएको।आफ्ना मन परेकालाई सक्षम नै नभए पनि टिका लगाएर दिने प्रचलनले पनि न त भातृ संस्था बलियो रह्यो न त गहन भूमिका नै निर्वाह गर्न सक्यो।जसको परिणाम माउ पार्टीलाई सहयोग र सदभाब कतैबाट पनि मिलेन।वर्षको ३६४ दिन काँग्रेस बन्ने र गुटकै पछि लाग्नाले चुनावको दिनमा काँग्रेसका उमेरवादलाई भोट नदिई अन्यत्र भोट दिनेहरूको जमातको लेखा जोखा नै छैन।

वर्तमान अवस्था नेबि सङ्घ भित्र उमेरको हदबन्दी लगाउने विषयमा पनि सहमति जुट्न सकेको छैन।कोही भन्छ ३२ वर्ष भन्दा मुनिकाले मात्र उम्मेदवार बन्न पाउने छन् त कोही भन्छन् ३२ वर्ष भन्दा माथिले पाउनु पर्छ भनेर खैर जे जस्तो भए पनि उमेर बढ्दै गए पछि त तरुण तिर लम्कनुनी उमेर ४० काट्न लागि सक्यो अझै नेबि सङ्घ अध्यक्ष बन्छु भन्छ।आखिर अलिकति लाज पनि लाग्नु पर्ने होइन र ? काँग्रेसका हस्तीहरू देउवा,पौडेल , कोइराला , सिंह र सिटौला के भएका हुन ! सानेपा पार्टी कार्यालयको भित्र बसेर बाहिर विद्यार्थी भाइ बहिनी लडाउन लाज लाग्दैन ? अनि प्रकाश शरण महत बिमलेन्द्र निधि के भा का हुन्।एउटा विद्यार्थीको मागलाई त निष्ठावान् भएर पुरा गर्न नसक्नेहरूले काँग्रेसलाई राम्रो गर्ला भनेर भन्ने र सोच्ने ठाउँ नै रहेन । काँग्रेसलाई अन्धकारमा धकेल्ने यी नेताहरू नै हुन।यस्ता नेताहरूलाई कार्यकर्ताले नसम्झाउने हो भने वर्तमान अवस्था नेकपा भित्रको अवस्थालाई हेरेर नेकपाका नेतृ राम कुमारी झाँक्रीले मिडियामा रूवाबासी गरे झैँ रुने दिन आउन सक्छ तसर्थ नेतृत्वमा रहेकाहरूले एक आपसमा कार्यकर्ता भिडाएर मज्जा लिनुको साट्टोमा तिनीहरू प्रशिक्षण दिएर २१ औँ शताब्दीको विपीको समाजवादको चित्र कोर्न लगाए कति राम्रो हुन्थ्यो।नेबि सङ्घ भित्र हस्तक्षेप गर्न आजैबाट छोडौँ।जय नेपाल।