कतै नभएको जात्रा नेविसंघमा - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

कतै नभएको जात्रा नेविसंघमा



कञ्चनपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कञ्चनपुरका लागि तीन जना छुट्टाछुट्टै व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिएको छ । नेविसंघमा देखिएको लामो समयदेखिको असन्तुष्टिका कारण कञ्चनपुरमा गत वैशाखयता तीन जना अध्यक्ष नियुक्त भएका छन् ।

कांग्रेसको सिटौला समूहले संस्थापन पक्षलाई ‘‘काउन्टर’ दिन समानान्तर समिति गठन गरेको महिना दिन नबित्दै पौडेल पक्ष निकट मानिने असन्तुष्ट समूहले राजबहादुर चन्दलाई जिल्ला अध्यक्षको जिम्मेवारी तोकेर पत्र पठाएपछि कञ्चनपुरमा तीन जना अध्यक्ष पुगेका हुन् ।

असार १८ मा नेविसंघका उपाध्यक्ष नवीन राई र प्रकाश रानाले संयुक्त विज्ञप्ती जारी गरेर चन्दलाई कञ्चनपुरको जिम्मेवारी दिइएको जनाएका छन् । चन्दलाई अध्यक्षको जिम्मेवारी सुम्पेर पठाइएको पत्रमा नेविसंघको विधानअनुसार यथाशिघ्र जिल्ला अधिवेशन गराउन निर्देशन दिइएको छ ।

यसअघि गत जेठ २८ गते सिटौला समूह निकट मानिएका महामन्त्री कुन्दनराज काफ्लेले अध्यक्ष नैनसिंह महरले जिल्ला अध्यक्षको जिम्मेवारी दिएका टेकराज पाण्डेयको समानान्तरमा कृष्ण भट्टको अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमितिको घोषणा गरेका थिए ।

सस्थापन निकटका पाण्डेय र सिटौला निकटका भट्टले आ–आफ्नै ढंगले जिल्लामा निर्वाचन क्षेत्रस्तरीय समिति समेत गठन गरिसकेको अवस्थामा पौडेल समूहले तेस्रो व्यक्तिलाई अध्यक्षको जिम्मेवारी तोकेपछि विद्यार्थीहरु अलमलमा परेका छन् ।