नेवि संघद्वारा पृथ्वीनारायण क्याम्पसमा तालबन्दी - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

नेवि संघद्वारा पृथ्वीनारायण क्याम्पसमा तालबन्दी



पोखरा  १८ माघ । आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको आवश्यक मुद्दा बेवास्ता गरी मनोमानी ढंगले निर्वाचन गराउन खोज्दा नेवि संघले विरोधमा पृथ्वीनारायण क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्ष तथा क्याम्पस प्रशासनको मुल भवनमा तालबन्दी गरेको छ ।

उम्मेदवारलाई २८ वर्षे उमेर हदबन्दी र बिना पूर्व जानकारी एक्कासी रोकिएको भर्नाप्रति खेद प्रकट गर्दै नेविसंघले राजधानीबाहिर पोखरामा पहिलो पटक यसरी तालाबन्दी गरेको हो ।

तालाबन्दी गर्नेक्रममा नेवि संघका नेता पशुपति भट्टराई, नेवि संघ केन्द्रीय सदस्य गोपाल गुरुङ, नेवि संघ कास्कीका निवर्तमान सचिव विक्रम गिरी, विद्यार्थी नेता दीपक शर्मा वाग्ले, लक्ष्मण पहारी, बालकृष्ण सापकोटा, भोजबहादुर गुरुङ, सागर सापकोटा, विश्वास तिमिल्सिना लगायत विद्यार्थी नेता सहभागी थिए ।

विद्यार्थीको नेतृत्व गर्नेलाई उमेर हदमा बाँध्ने र एक्कासी भर्ना प्रक्रिया समेत रोक्ने शैक्षिक माफियातन्त्रको खेल हुन सक्ने र त्रिविका यस्ता दादागिरीलाई नेविसंघले कदापी नस्वीकार्ने नेता पशुपति भट्टराईले बताए । उनले आफ्नो माग सम्बोधन नभए कडाभन्दा कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् । नेवि संघको ११ औं महाधिवेसनमा सहमहामन्त्रीका प्रत्यासीसमेत रहेका भट्टराईले उक्त आन्दोलनलाई सशक्त र सफल बनाउन नेवि संघ लगायत अन्य विद्यार्थी संगठनलाई समेत अपील गरेका छन् ।