नेकपा माओवादी केन्द्रले निर्वाचनको अन्तिम परिणाम आइसक्दा पनि सरकार छाडेनन् - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

नेकपा माओवादी केन्द्रले निर्वाचनको अन्तिम परिणाम आइसक्दा पनि सरकार छाडेनन्



काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत परिणामको नतिजा  प्राथमिकतामा परेका  छन्।  नयाँ सरकार गठनका लागि भइरहेका कसरत, सत्ता पक्ष र प्रतिपक्ष बीचको विवादलगायतका समाचारलाई पनि पत्रपत्रिकामा उत्तिकै स्थान पाएको छ ।

‘सरकारमा १७ मन्त्री प्रतिपक्षसँग साझेदारी’ शीर्षकमा मुख्य समाचार राजधानी दैनिकले छापेको छ । जसमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितता भएपछि मात्र सरकार छाड्ने उदघोष गरेको नेकपा माओवादी केन्द्रले निर्वाचनको अन्तिम परिणाम आइसक्दा पनि सरकार छाड्न नसकेको विषयलाई उठान गरेकाे छ ।

समाचारमा लेखिएको छ, ‘वाम गठबन्धन दलले सरकारले राष्ट्रपतिसमक्ष राष्ट्रियसभा गठन तथा सरुवा बढुवाको विरोध गरिरहे पनि माओवादी कै मन्त्रीहरु भने सरकारबाट हटेका छैनन् । आफै सरकारमा रहनु र पुनः आफै सरकारको विरोध गर्नु दोहोरो चरित्र भएको भन्दै माओवादी मन्त्रीको आलोचना समेत सुरु भएको छ ।’

‘कतिपय आलोचकहरुले प्रधानमन्त्रीले विनाविभागीय बनाएको अवस्था र निर्वाचन सम्पन्न भई सबै मतपरिणाम आउँदासमेत माओवादी मन्त्रीहरु सरकारमा नै रहनु सत्तालिप्साको उदाहरण भएको संज्ञासमेत दिने गरेका छन् ।’

विना विभागीय मन्त्री एवम् माओवादी नेता टेकबहादुर बस्नेतले राजधानी दैनिकसँग भनेका छन्, ‘यो सरकार नै कामचलाउ सरकार हो, अब यो सरकार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबै नयाँ चुनिने हो, यी सबै काम अब सुरु नै हुने अवस्था छ, त्यसैले अहिले आएर हामी हट्नु वा नहट्नुको अर्थ पनि हुन्न र सान्दर्भिक पनि छैन ।’