मोरङको एमाले समानान्तर कमिटी पुरै एकीकृत समाजवादीमा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मोरङको एमाले समानान्तर कमिटी पुरै एकीकृत समाजवादीमा



विराटनगर- माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा (एमाले) समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।

शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो।

एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। वडा तहसम्म गठन भएका समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा समाहित गरेको छ।

एकीकृत समाजवादीले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। कमिटीका अधिकांश सदस्य उपस्थित भएको पूर्ण बैठकले दुई उपाध्यक्ष, सचिव, दुई सहसचिव र आर्थिक विभागका प्रमुखको जिम्मेवारी टुंगो लगाएको छ।

डा. उद्धव पोखरेललाई मोर्चा विभाग प्रमुख, राजन केसीलाई संगठन विभाग प्रमुख, चण्डी राईलाई स्कुल विभाग प्रमुख, निलम ढुंगेललाई श्रम तथा रोजगार विभाग प्रमुख र वसिम आलमलाई प्रचार प्रवक्ताको जिम्मेवारी तोकेको छ।

पार्टीको बैठकमा आफू निकट रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडासदस्य रही जिल्ला कमिटीको जिम्मेवारीमा रहेका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। बैठकले १७ वटै स्थानीय तह र सबै वडाहरुमा पार्टीको भेला आयोजना गरी कमिटीहरुलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको बताइएको छ।