प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपामा तरंग: पार्टी प्रवक्ताले समेत उठाए प्रश्न - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपामा तरंग: पार्टी प्रवक्ताले समेत उठाए प्रश्न



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे दिएको अभिव्यक्तिले पार्टीभित्रै तरंग ल्याएको छ ।

नेकपाकै नेताहरूले प्रधानमन्त्रीको उक्त भनाई गैरजिम्मेवार र संविधानविरोधी भनिरहेका बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत आवाज उठाएका छन् । श्रेष्ठले नेपालको संविधानको व्यवस्था विरुद्ध कसैले पनि कुनैपनि क्रियाकलाप गर्न नहुने बताएका छन् ।

उनले संविधानका सकारात्मक पक्षहरुको रक्षा गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउने दिशामा अघि बढ्नु सबैको जिम्मेवारी भएको स्मरण गराएका छन् ।

श्रेष्ठले नेपाली जनताको बलिदानीपूण र महान् संघर्षको परिणामस्वरुप प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गरिएको नेपालको संविधानको व्यवस्थाविरुद्ध कोही पनि जान नमिल्ने जिकिर गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘नेपाली जनताको बलिदानीपूण महान् संघर्षको परिणामस्वरुप प्राप्त परिवर्तन र त्यसलाई संस्थागत गरिएको नेपालको संविधानको व्यवस्था विरुद्ध हामी कोही पनि जानु हुँदैन’ संविधानको सकारात्मक पक्षहरुको रक्षा गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउने दिशामा अघि बढ्नु हामी सबैको जिम्मेवारी हो ।’

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओलीले प्रदेशको अधिकारकाबारेमा दिएको अभिव्यक्तिबारे विवाद भइरहेका बेला प्रवक्ता श्रेष्ठको यस्तो भनाइ सार्वजनिक भएको हो ।

प्रधानमन्त्री ओलीले नेकपा कर्णाली प्रदेशका नेताहरुसँगको भेटमा सवै प्रदेश सभाको दलकै नेता नै आफै रहेको बताएका थिए ।