नयाँ मन्त्रीमण्डलको खाका बनाउन नेकपाको बैठक बस्दै
काठमाडौँ- सत्तारुढ नेकपाले शुक्रबारका लागि सचिवालय बैठक बोलाएको छ । मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको बताइएको छ ।
बैठक शुक्रबार बिहान ११ बजे नेकपाको जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने सूचना आएको सचिवालयका एक सदस्यले बताए । बुधबार दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफलपछि सचिवालय बैठक तय भएको हो ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणका बाँकी काम छलफलका एजेन्डा रहेका छन् । भदौ २६ मा सकिएको स्थायी कमिटी बैठकले असोज महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने निर्णय गरेको छ ।
पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको पार्टी कार्यालय रहेको पेरिसडाँडामा पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । भदौ ९ मा सचिवालय बैठक नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दाहालको अध्यक्षतामा बसेको थियो ।
त्यसबाहेक सचिवालयका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए ।