इश्वर र नारायणकाजीका कारण ओली र प्रचण्ड तनावमा - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

इश्वर र नारायणकाजीका कारण ओली र प्रचण्ड तनावमा



काठमाडौं :बिबादलाई टुंग्याएर एकतालाई अन्तिम निष्कर्ष दिने भनेर थालिएको नेकपाको पछिल्लो अभियान पनि बिबादमा फसेको छ । यो बिबाद देख्दा पदको जस्तो देखिएपनि अन्तर्यमा भने बैचारिक बिबाद नै बनेको छ ।

पार्टीका विभागहरूको नेतृत्व टुंग्याउन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको आजको छलफल पनि निष्कर्ष विहीन भएको छ।

स्कुल विभागको नेतृत्त्वमा सचिवालय सदस्यद्वय ईश्वर पोखरेल कि नारायणकाजी श्रेष्ठ भन्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुट्न नसकेपछि बहसको बिषय बनेको छ । सोमबार साँझ बसेका दुवै अध्यक्षबीचको छलफलबाट स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने सहमति नजुटेपछि सचिवालय बैठक पनि नबस्ने भएको छ ।

मंगलबार सचिवालयको बैठक बस्ने निर्णय भएको थियो तर सोमबार बसेको दुई अध्यक्षको बैठकले निष्कर्षको मोड नलिएपछि सचिवालय बैठक पनि नबस्ने भएको हो ।

अध्यक्षद्धयबीच पार्टीको स्कुल विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा निर्णय हुन नसकेपछि भोलि दिउँसो १ बजेका लागी बोलाइएको पार्टीको सचिवालय बैठक स्थगित भएको हो। स्कुल विभागको नेतृत्वको विवाद समाधानका लागि दुई अध्यक्षबीच ३ घण्टा छलफल भए पनि निर्णय हुन नसकेको हो। दिउँसो ४ बजेदेखि अध्यक्षद्वयबीच साँझ ७ बजेसम्म प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो।

अध्यक्ष ओलीले स्कुल विभागको नेतृत्त्व पोखरेललाई दिनुपर्ने अडान लिएका छन् भने अध्यक्ष प्रचण्डले पार्टी प्रवक्ता श्रेष्ठलाई स्कुल विभागको प्रमुख बनाउनुपर्ने अडान राख्दै आएका छन्। पार्टी सिद्धान्तबारे विवादित अभिव्यक्ति दिँदै आएकाले पूर्वमाओवादी पक्ष पोखरेललाई स्कुल विभागको प्रमुख दिन असहमत भएको हो। पूर्वएमालेका अधिकांश नेतासमेत पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिन नहुने पक्षमा छन्।