नेकपा बिभाजन नहुने: यस्तो छ अंकगणित - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

नेकपा बिभाजन नहुने: यस्तो छ अंकगणित



काठमाडौँ- नेपालमा कम्युनिस्ट आन्दोलन संस्थागत गर्न भन्दै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलि २०७५ जेस्ठ २ मा एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा तत्काल बिभाजन नहुने भएको छ ।

शक्ति संघर्षले थलिएर बिभाजनको डीलमा पुगेको पार्टी नेकपा फुटाउन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्यमा निकै अल्पमतमा रहेकाले तत्काल बिभाजन नहुने देखिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहले छुट्टाछुट्टै स्थानमा केन्द्रीय समिति बैठक बोलाएपछि फुट्ने आंकलन गरिए पनि त्यो अवस्था तत्काल नआउने भएको छ ।

आज बोलाइएको दुवैतिरको बैठकले एकले अर्कोलाई कारबाही गर्ने तयारी गरेको छ ।

पार्टी विभाजनका लागि केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य चाहिन्छ । ओली समूहको ४० प्रतिशत नपुग्‍ने भएपछि केन्द्रीय सदस्य तान्ने दाउमा पुगेका छन् । संसद विघटन भइसकेको अवस्थामा केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउन नसके विभाजन हुँदैन।

यदि यो अवस्थामा ओली पक्षले पार्टी फुटाउने कसरत गरे बिभाजन होइन ‘चोइटिएको पार्टी’ मात्र बन्‍नेछ । किनकि यसरी फुटाएको पार्टीले निर्वाचन आयोगबाट बैधता प्राप्त गर्ने छैन ।

यता प्रचण्ड-नेपाल समुहले भने आफूसंग बहुमत रहेकाले र अध्यक्ष ओलीलाई कारबाही गरेकाले पार्टी एकताबढ्द हुने भन्दै विज्ञप्ति नै निकालेको छ । प्रचण्ड-नेपाल समुहमा बहुमत रहेपनि उनीहरू पार्टी बिभाजन गर्ने मनस्थितिमा छैनन् ।

कसका कति केन्द्रीय सदस्य

नेकपाको केन्द्रीय कमिटी ४४१ सदस्यीय छ । जसमा पूर्वएमालेबाट २४१ र पूर्वमाओवादीबाट २०० सदस्य छन् । पुर्वएमालेभित्र ओली समूहमा १३१ र नेपाल समूहमा ११० सदस्य छन् ।

पूर्वमाओवादीका २ सय सदस्य लगभग सबैले प्रचण्डलाई समर्थन गरेका छन् । रामबहादुर थापा बादल पक्षमा २४ सदस्य रहेपनि बादलले ओलीले साथ् दिएको अवस्थामा उनीहरूले बादललाई साथ् नदिने बताइसकेका छन् ।

यो संख्या हेर्दा प्रचण्ड-नेपाल समूहमा ३१० केन्द्रीय सदस्य र ओली समूहमा १३१ सदस्य मात्र पुग्छ । प्रचण्ड-नेपाल समूहले जिम्मेवारी बाडफाडसहितको खाका तयार गरेको छ ।

बहुमत केन्द्रीय सदस्यहरूले ओलीलाई कारबाही गर्दै माधवकुमार नेपाललाई अध्यक्ष घोषणा गर्ने तयारी छ । त्यसैले तत्काल नेकपा बिभाजन हुने अवस्था छैन। यदि बिभाजन भएको खण्डमा एउटा समूह चोइटिएको हुनेछ ।