नेकपाको निर्णायक सचिवालय बैठक बस्दै: यस्तो छ तयारी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

नेकपाको निर्णायक सचिवालय बैठक बस्दै: यस्तो छ तयारी



काठमाडौं- निर्णायक हुने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । सहमति जुटाउन र आवश्यक तयारी गर्न भन्दै तीन दिनको लागि स्थगित भएको सचिवालय बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बुधबारको बैठकमा प्रधानमन्त्री एबं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि उपस्थित हुन आग्रह गर्दै बैठक आजसम्मको लागि स्थगित गरिएको थियो । तर आजको बैठकमा पनि ओली उपस्थित हुने, नहुने टुंगो लागेको छैन ।

मंसिर १७ गते बसेको सचिवालय बैठकयता ओली र प्रचण्डबीच एक पटक पनि औपचारिक संवाद हुन सकेको छैन । दुई अध्यक्षले एक अर्कालाई गम्भीर आरोप लगाउँदै छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि बढेको विवाद साम्य पार्न दोस्रो तहका नेताहरुले प्रयास गरे पनि सफल हुन सकेको छैन ।

निकास बैठकबाट वा दुई अध्यक्षबीचको संवादबाट भन्नेमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मतभेद कायमै छ ।

ओली र प्रचण्ड सहमतिको नयाँ विकल्पबारे संवादै नगरी आ–आफ्नै रणनीतिलाई बलियो बनाउने दिशातिरै अग्रसर ददेखिएका छन् । ओलीले बैठक स्थगन गरेर अनौपचारिक छलफलमा जोड दिएका छन् भने प्रचण्ड–नेपाल समूह आजको सचिवालय बैठकमार्फत सबै विषय स्थायी कमिटीमा प्रवेश गराउने तयारीमा छ ।

प्रधानमन्त्रीनिकट नेताहरूले प्रचण्डलाई भेटेर बहुमत–अल्पमतको प्रक्रियाबाट अगाडि बढ्दा पार्टी एकता भंग हुने सन्देश दिँदै सहमतिका लागि संवादमा बस्न आग्रह गरेका छन् । तर, प्रचण्डले भने प्रधानमन्त्री ओलीले सहमति खोजेको हो भने त्यसको आधार बैठकमै प्रस्तुत गर्नुपर्ने भन्दै आजका लागि बोलाइएको सचिवालय बैठक नरोकिने जवाफ फर्काएका छन् ।

प्रधानमन्त्रीको सन्देश लिएर उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार र महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले बिहीबार खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

बुधबार बसेको सचिवालय बैठकले पार्टीमा देखिएको संकट समाधानका लागि अनौपचारिक र औपचारिक दुवै तहमा नेताहरूबीच संवाद अघि बढाउने, आज सचिवालय र भोली स्थायी कमिटी बैठक राख्ने निर्णय गरेको थियो ।