(नेकपा) फुटाएर चर्चामा आएको नेकपा आफै फुट्यो: पार्टीका अध्यक्ष ऋषि कट्टेल निस्काशित - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

(नेकपा) फुटाएर चर्चामा आएको नेकपा आफै फुट्यो: पार्टीका अध्यक्ष ऋषि कट्टेल निस्काशित



काठमाडौं- एमाले र माओवादीको एकतापछि बनेको तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध मुद्दा हालेर सर्वोच्चबाट पार्टी विभाजन गरिदिन सफल भएको ऋषि कट्टेल अध्यक्ष भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा आफै विभाजन भएको छ ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्ष कट्टेललाई नै पार्टीबाट निस्काशित गरेका छन् । रोचक त के छ भने कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निस्काशित गरिएको छ ।

पछिल्लो समयमा पार्टीमा चरम विवाद चुलिएपछि सोहि पार्टीका बहुमत सदस्यहरूले अध्यक्ष कट्टेललाई पार्टीबाट निस्काशित गरेका हुन्।पार्टीका कार्यवाहक अध्यक्ष लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष घोषणा गर्दै बहुमत सदस्यको बैठकले कट्टेललाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गरेका छन्।

निस्काशित गर्ने समूहले कट्टेल पार्टीको साधारण सदस्य समेत नरहेको व्योहोरा निर्वाचन आयोगलाई पठाइसकेका छन् ।माघ १३ गते कट्टेल र निर्वाचन आयोगलाई पठाइएको पत्रमा दलको अहितमा काम गरेको र स्पष्टिकरणको समेत जवाफ नदिएको उल्लेख छ ।

पत्रमा लेखिएको छ, ‘दलको विधान २०६९, राजनीतिक दल सम्बन्धि ऐन २०७३, नेपालको संविधान विपरित दलको अहितमा काम गरेको बारेमा केन्द्रीय समितिले माघ ५ गते गरेको निर्णयअनुसार जाँचबुझ समिति गठन गरी उक्त समितिको निर्णयअनुसार २०७८ माघ ७ मा स्पष्टिकरण सोधिएकोमा कुनै जवाफ नदिनु भएकाले पार्टीको विधानअनुसार दलको साधारण सदस्यसमेत सम्पूर्ण पद र जिम्मेवारीबाट छानबिन समितिको सिफारिस प्रतिवेदन बमोजिम आजैका मितिदेखि निस्काशित गरिएको ब्यवहोरा जानकारी गराइन्छ ।’

बहुमत समूहले लोकनारायण सुवेदीलाई पार्टीको का.वा. अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिको संयोजक समेत तोकेको छ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता भएपछि दर्ता भएको (नेकपा)लाई अहरेज गर्न कट्टेल नेतृत्वको नेकपाले मुद्दा हालेको थियो । ओली र प्रचण्डबीच चर्किएको विवादकै समयमा नेकपालाई अदालतले विघटन गरेपछि कट्टेल समेत चर्चामा आएका थिए ।