४ घण्टा नेकपा सचिवालय बैठक: ४ कार्यसूची तयार, मन्त्रिमण्डल फेरिने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भएको छ । पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा छलफल भएको थियो ।
“यसबारेमा नीतिगत छलफल भएको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सरकारलाई प्रभावकारी बनाउने लक्ष्यलाई अघि बढाउने सन्दर्भमा विभिन्न विकल्पमा छलफल भएका छन् ।”
उनका अनुसार व्यक्तिका नामका विषयमा छलफल भएको छैन । कसलाई के का आधारमा मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको भए पनि व्यक्तिका बारेमा भने प्रवेश गरिएको छैन ।
मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको उनले बताए। ‘पुनर्गठनका सन्दर्भमा विभिन्न कोणबाट नीतिगत रूपमा सुझाव दिएको छ। नामबारे छलफल भएका छैन,’ उनले भने।
यस्तै संवैधानिक राजनीतिक नियुक्ति गर्न आधार तय गर्न कार्यसूची तय गरेको समेत उनले बताए। यसका साथै एकीकरणका बाँकी कामका विषयमा पनि कार्यसूची तय भएको उनले बताए। यस्तै संगठन र विभागका निर्णयबारे पनि कार्यसूची तय भएको उनले बताए।
संवैधानिक पदमा रिक्त रहेका पदहरुका विषयमा समेत सचिवालय बैठकमा छलफल हुने अर्का सचिवालय सदस्यले बताए। अहिले अख्तियारलगायत महत्वपूर्ण निकायमा ४२ पद रिक्त छन्।
सांगठनिक एकताका विषयमा समेत सचिवालय बैठकमा एजेण्डाको रुपमा पेश भई छलफल हुने भएको छ। पार्टी एकताका बाँकी काम असोजभित्र पुरा गर्ने स्थायी कमिटीले निर्णय गरेपछि सचिवालय बैठकमा छलफल भएको बताइएको छ।