७३ जिल्लामा गठन भयो एकीकृत समाजवादीको कमिटी - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

७३ जिल्लामा गठन भयो एकीकृत समाजवादीको कमिटी



काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले देशका ७३ जिल्लामा पार्टीको जिल्ला कमिटी गठन गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले विज्ञप्ति जारी गरी देशभरका ७३ जिल्लामा पार्टीको जिल्ला कमिटी गठन भएको जानकारी दिएका हुन्। चारवटा गैरभौगोलिक जिल्ला कमिटीसमेत गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ।

पछिल्लो समय वर्षा, बाढी, पहिरोका कारण कमिटी गठन कार्य स्थगित गरिएको उनले जनाएका छन्।

अहिले सङ्घीय तथा प्रदेशस्तरका निर्वाचन क्षेत्रीय कमिटी, स्थानीय तहका विभिन्न पालिका, वडा तथा टोल कमिटी गठनको प्रक्रिया जारी छ भने विभिन्न जिल्ला र केन्द्रबीच समन्वय स्थापित गर्ने सम्पर्क मञ्चको गठनका क्रममा छन्।

देशबाहिर विभिन्न प्रवास कमिटीसमेत गठन भइरहेका छन्। पार्टी निर्माणका पक्षमा देशभरका हजारौं युवा, विद्यार्थी कार्यकर्ताको स्वःस्फूर्त सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ।

पार्टीको आधिकारिक प्रकाशनतर्फ केन्द्रीय मुखपत्रका रूपमा ‘समाजवाद’ र गतिविधिमूलक प्रकाशन (बुलेटिन) का रूपमा ‘कलम’को प्रकाशन तयारी भइरहेको छ। त्यसमध्ये ‘कलम’ को प्रकाशन एक साताभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको एकीकृत समाजवादीले जनाएको छ।

पार्टीको आधिकारिक वेबसाइट, विभिन्न सामाजिक सञ्जालमा पार्टीको उपस्थितिका निम्ति प्राविधिक कार्य अन्तिम चरणमा पुगेको उल्लेख छ।

प्रदेश १ र बागमती प्रदेश सरकारको आगामी नेतृत्व पार्टीले गर्ने सहमति पाँच दलीय गठबन्धनको बैठकले गरिसकेको जनाइएको छ।

गत भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको पार्टीले केन्द्रीय कमिटीलाई पूर्णता दिने काम सम्पन्न भएको छ। सम्पूर्ण प्रदेश तथा प्रदेशस्तरका कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष, सचिवसहितका पदाधिकारी तोकिएका छन्।

केन्द्रीय आयोग र निकायहरु गठन भइसकेका छन्। केन्द्रीय विभागका प्रमुख, उपप्रमुखहरु तोकिएका छन्। ती विभागहरुलाई पूर्णता दिनका निम्ति देशभरबाट विभागको कार्यक्षेत्र, प्रकृति र चरित्रअनुसारका छनोट गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।

सबै जनसङ्गठन, पेशागत तथा सामुदायिक सङ्गठनहरुको विभिन्न तहका कमिटी गठन, पुनर्गठन तथा रूपान्तरणका काम जारी छन्। पार्टीको सम्पूर्ण जिल्ला कमिटी, जनसङ्गठनसहित विविध पेशागत तथा सामुदायिक सङ्गठनका इञ्चार्ज तथा सहइञ्चार्ज तोक्ने काम सम्पन्न भएको जनाइएको छ। रासस