नेकपा गम्भीर मोडमा पुगेको नेताहरूको निष्कर्ष, ओलीलाई दिए यस्तो निर्देशन
काठमाडौं- सत्तारुढ दल नेकपामा देखिएको विवादले उग्र रुप लिंदैगर्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली इतरका नेताहरूले पार्टी गम्भीर मोडमा पुगेको निष्कर्षमा पुगेका छन् ।
प्रधानमन्त्री ओलीविनै बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले ओलीलाई आगामी बैठकमा अनिवार्य उपस्थित भएका नेताहरूले यस्तो निष्कर्ष निकालेका हुन् । सचिवालयले प्रधानमन्त्री केपी ओलीलाई आगामी मंसिर २० गते बस्ने सचिवालयको बैठकमा अनिवार्य उपस्थित भई निकाश निकाल्न निर्देश समेत गरेको छ ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘अध्यक्ष केपी ओलीको आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्षासहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अब सचिवालयको बैठक आगामी २० गते दिउँसो १ बजे बस्नेछ ।’
‘यस्तो असामान्य परिस्थितिमा सम्वेदनशिलताका साथ नै प्रकृया अगाडि बढाउनु, छलफल गर्नु र निर्णय लिनु उचित हुन्छ,’ उनले भने,‘अध्यक्ष (ओली) बैठकमा आउनु भएन भने के हुन्छ ? भन्नेबारे हामी सोच्नै चाहँदैनौँ । हामी अपेक्षा मात्रै होइन विश्वस्त पनि छौँ । केपी ओली अर्को बैठकमा उपस्थित भएर पार्टीको अहिलेको संकटको निवारण गर्ने छलफललाई सार्थक निष्कर्षमा पु-याउन योगदान गर्नुहुनेछ ।’
उनले नेकपा गम्भीर र सम्वेदनशील मोडमा रहेको पनि बताए ।
यस्तै, बिहीबारदेखि बस्ने नेकपाको स्थायी समितिको बैठक पनि २१ मंसिर दिउँसो १ बजेसम्मका लागि सारिएको छ ।