प्रचण्डको पुनरावलोकन मुद्दाको फैसला आजै, प्रधानन्यायाधीशले हेर्दै
काठमाडौं- नेकपा एकता प्रक्रिया बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले दिएको पुनरावलोकन निवेदनको सुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना रहेको बेन्चले सो निवेदनको सुनुवाइ गर्दैछ ।
ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै गत फागुन २३ गते सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया खारेज गर्ने निर्णय गरेपछि सर्वोच्चको सो फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता मंगलबार सर्वोच्च अदालत पुगेर पुनरावलोकन निवेदन दर्ता गराएका थिए ।
पुनरावलोकन निवेदन दर्ता गराएपछि अध्यक्ष प्रचण्डले अदालतले पार्टीहरुको आन्तरिक एकता भत्काउन नमिल्ने प्रतिक्रिया दिएका थिए । उनले सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएको बताउँदै उक्त फैसलालाई अप्राकृतिक भनेका थिए ।