नेकपा (एस)का मन्त्रीहरूलाई माधव नेपालको कडा निर्देशन: गडबड गर्ने छुट छैन
काठमाडौं-नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई कडा निर्देशन दिएका छन् । नेपालले मन्त्रीहरूलाई गल्ती गर्ने छुट कसैलाई नभएको भन्दै देश र जनता सवैभन्दा माथि राखेर काम गर्न निर्देशन दिएका छन्
आफ्नो पार्टीबाट बनेका मन्त्रीहरूलाई नेपालले आइतबार बिहान पार्टी कार्यालयमा डाकेका थिए । उनले आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिए । पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई पार्टी कार्यालयमा बोलाएर अध्यक्ष नेपालले विषम परिस्थितिमा गठबन्धन सरकार बनेकाले संवेदनशील बन्न आग्रह गरे ।
उनले सोही संवेदनशीलतालाई ख्याल गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए । नेता नेपालले गडबड गर्ने छुट नभएको समेत बताएका थिए । उनले भने, ‘अहिलेको परिस्थिति कसरी उत्पन्न भयो भन्नेमा तपाईहरु जानकार नै हुनुहुन्छ’, अध्यक्ष नेपालले मन्त्रीहरुलाई निर्देशन दिने क्रममा भने, ‘यस्तो अवस्थामा तपाईंहरु मन्त्री बन्नुभएको छ । यसलाई मध्यनजर गर्दै आफूले निर्वाह गर्नुपर्ने भूमिकाको ख्याल गर्नुस् ।’
त्यस्तै अध्यक्ष नेपालले मन्त्रीहरुलाई पारदर्शी बन्न, आचारसंहिताको पूर्ण पालना गर्न र देश र जनता सवैभन्दा माथि राखेर काम गर्न पनि भनेका हुन् । ‘पारदर्शी बन्नुुस्, आचारसंहिताको पुर्ण पालना गर्नुस्, देश र जनताको आवश्यकतालाई प्राथमिकता दिनुस्, विवादास्पद काम नगर्नुस्’, अध्यक्ष नेपालको निर्देशन उधृत गर्दै अर्का एक मन्त्रीले भने ‘बदनाम हुने काम गर्दै नगर्नुस् ।’