प्रदेश १ मा एमालेका १० सांसद नेकपा (एस)मा, अल्पमतमा परे मुख्यमन्त्री
काठमाडौँ– प्रदेश नम्बर १ प्रदेश सभामा रहेको नेकपा एमालेका ५१ जना सांसद मध्ये १० जनाले एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले बुधबार प्रदेश निर्वाचन कार्यालय मोरङमा नेकपा (एकीकृत समाजवादी) रोजेको सनाखत गरेका छन् ।
१० जना सांसदहरुले सनाखत गरिसकेको निर्वाचन कार्यलय स्रोतले जनाएको छ । निर्वाचन आयोगले यही भदौ २२ गतेसम्म दल रोजेर सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा सनाखत गर्न समय दिएको छ । सोही अनुसार एमाले त्यागेर १० जना सांसदहरुले नेकपा एस रोजेका हुन् ।
९० सदस्यीय प्रदेशसभामा एमालेका ५१ जना सांसद थिए । अब सो पार्टीमा ४१ जनामात्र सांसद रहेका छन् । हालै एमालेको एकल बहुमतका आधारमा भीम आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए । तर, एमाले विभाजन भएकाले उनले विश्वासको मत लिनुपर्ने भएको छ । उनले बहुमत पनि गुमाएका छन् ।
माधवकुमार नेपालको नेतृत्वमा नेकपा एस गठन भएको छ । एमाले त्यागेर नेकपा एस रोज्ने सांसदहरुमा राजेन्द्र राई, राजन राई, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिता चौधरी, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, गणेश काङवाङ, खिनु लङ्वा लिम्बु, सावित्री रेग्मी हुन् ।