नेकपाको विवाद नयाँ चरणमा: अब केन्द्रीय कमिटीले गर्नेछ निर्णय - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

नेकपाको विवाद नयाँ चरणमा: अब केन्द्रीय कमिटीले गर्नेछ निर्णय



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद नयाँ चरणमा पुगेको छ । केन्द्रीय कमिटी बैठकका लागि एक चौथाई सदस्यले हस्ताक्षर गरेका छन्।

जम्मा ४ सय ४१ मध्य एक चौथाइले हस्ताक्षर गरिसकेको केन्द्रिय कमिटी सदस्य ठाकुर गैरेले जानकारी दिए। उनका अनुसार १ सय ११ जनाभन्दा बढी सदस्यले हस्ताक्षर गरेका हुन्। स्थायी कमिटीका जम्मा सदस्यमध्ये एक चौथाइले बैठक माग गरेमा एक महिनाभित्र बैठक बोलाउनुपर्ने नेकपाको विधानमा उल्लेख छ।

मंगलवार बस्ने स्थायी कमिटी बैठकमा नेकपा विवादको छिनोफानो नभए केन्द्रीय कमिटी बैठकका लागि पार्टी अध्यक्ष तथा महासचिवलाई हस्ताक्षर बुझाउने तयारी गरेको बताइएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर चर्किएको विवाद समाधानका लागि असार १० गतेदेखि स्थायी कमिटी बैठक सुरु भए पनि ओलीले राजीनामा नदिने अडान लिएपछि स्थगित हुँदै आएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले ओलीको राजीनामा मागेका हुन्।

सोमवार बिहान प्रचण्ड-नेपाल समूहले भोलिको बैठक नरोक्ने निष्कर्ष निकालेको छ। स्थायी कमिटी बैठकका लागि प्रचण्ड-नेपाल समूहका २० जना नेताले दुई अध्यक्षलाई हस्ताक्षर बुझाएका थिए।

ओली-प्रचण्डको एक्लाएक्लै वार्ताबाट मंसिरमा महाधिवेशन गर्ने एजेण्डामा सहमति भएको भनिएको भए पनि प्रचण्डले पछिल्ला दिनमा सहमति नै नभएको प्रष्टीकरण दिएका छन्। ओलीबाट पार्टी र सरकार नचल्ने भन्दै उनको विकल्प खोज्ने योजनामा ओली इतरका नेताहरुले कसरत गरिरहेका छन्।