नेकपा विवाद: फेरियो बैठकको स्वरूप, अब माधव नेपाल पनि बस्ने - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

नेकपा विवाद: फेरियो बैठकको स्वरूप, अब माधव नेपाल पनि बस्ने



काठमाडौँ- सत्तारुढ दल नेकपामा देखिएको तिक्तता अन्त्यका लागि अथक प्रयास गर्दा पनि सहमति जुटेको छैन । विवाद समाधानका लागि भन्दै दिनहुँ छलफल गर्दै आएका नेकपाका दुई अध्यक्षबीच बुधबारको बैठकमा पनि कुनै सहमति जुट्न सकेन ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बालुवाटारमा करिब तीन घण्टा छलफल भए पनि कुनै ठोस सहमति हुन सकेको छैन । लगातारको बैठकबाट पनि निष्कर्ष ननिस्किएपछि बैठकको स्वरूप परिवर्तन हुने भएको छ ।

अब बस्ने बैठकमा दुई अध्यक्षसँग वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुने भएका छन् । दुई अध्यक्षबीच लगातार वार्ता भए पनि कुनै प्रगति नभएपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपाल पनि छलफलमा सहभागी हुने भएका हुन् ।

दुवै अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो । मंगलबार प्रधानमन्त्री ओलीको अवस्था कमजोर भएपछि केहीबेर कुराकानी गरेर ओली प्रचण्ड छुट्टिएका थिए । बुधबार भने विषयवस्तु केन्द्रीत छलफल भएको बताईएको छ ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा दाहाल र वरिष्ठ नेता नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ । ओलीले अहिलेसम्म दुवै पद नछाड्ने अडान लिएका छन् । स्रोतका अनुसार बुधबारको छलफलमा पनि ओलीले आफ्नो अडान दोहोर्‍याएका थिए ।

आफूले कुनै हालतमा दुवै पदबाट राजीनामा नदिने बरु छिटो महाधिवेशन गरेर एकल अध्यक्ष हुन ओलीले दाहाललाई प्रस्ताव गरेका थिए । तर, दाहालले अहिले प्रधानमन्त्रीबाट राजीनामा दिएर निकास दिनुपर्ने माग राखेका थिए ।

दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ । गत साता पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए ।