नेकपामा अब नेताका विरुद्ध लेखे कारबाही, सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

नेकपामा अब नेताका विरुद्ध लेखे कारबाही, सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै तहका कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने भएको छ ।

पाँचौं स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तहगत कमिटीहरूमा राजनीतिक दलसम्बन्धी विद्यमान कानुन परिपालना गर्ने उद्घोष गरेका हुन् ।

पार्टीका महाधिवेशन, अधिवेशनहरूमा ३३ प्रतिशत महिला सहभागितलाई अनिवार्य गर्ने उनीहरूले बताएका छन् ।

“सबै तहका पार्टी कमिटीमा ३३ प्रतिशत महिला सहभागिता लगायतका राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्था महाधिवेशन र अधिवेशनका मञ्चहरू मार्फत् कार्यान्वयन गर्ने,” अन्तरपार्टी निर्देशनको बुँदा नम्बर ५(४) मा भनिएको छ ।

सूचना–सञ्चारमा कडाइ

त्यस्तै (नेकपा)ले अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्न निर्देशन दिएको छ ।

अन्तरपार्टी निर्देशनमार्फत् पाँचौं स्थायी कमिटी बैठकको निर्णय जारी गर्दै अध्यक्ष ओली–प्रचण्डले सञ्चारमाध्यमहरूमा पार्टी हीतविपरितका अनधिकृत, प्रायोजित र तथ्यहीन समाचार सम्प्रेषण गर्ने प्रवृतिलाई नियन्त्रण गर्ने र त्यस्ता पात्रलाई जवाफदेही बनाउन निर्देशन दिएका हुन् ।

“वेभसाइट तथा अन्य डिजिटल प्लेटफर्महरूमा देखापरेका पार्टीका नेता तथा कार्यकर्ताहरूको अराजक तथा अनुशासनहीन कार्यलाई नियन्त्रण गर्ने,” ओली–प्रचण्डले हस्ताक्षर गरेको निर्देशनको बुँदा नम्बर ५ (३)मा भनिएको छ ।