कर तिर्न एनसेललाई सात दिने अल्टिमेटम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कर तिर्न एनसेललाई सात दिने अल्टिमेटम



काठमाडौं : ठूला करदाता कार्यालयले पुँजीगत लाभकर तिर्न एलसेल प्रालिलाई सातदिने अल्टिमेटम दिएको छ। ठूला करदाता कार्यालयले मंगलबार तिर्नुपर्ने कर निर्धारण गरी कम्पनीलाई सात दिनभित्र तिर्न निर्देशन दिएको हो। कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ ७१ पैसा तिर्नुपर्ने कर निर्धारण गरेको छ।

कार्यालयका उपसचिव मदन दाहालले मंगलबार एनसेललाई पँुजीगत लाभकर तिर्न पत्राचार गरेको जानकारी दिए। उनले भने, ‘उहाँहरूले पत्र पाइसकेको जानकारी आएको छ। अब सात दिनभित्र कर बुझाउनुपर्ने हुन्छ।’

एनसेलको बिक्रीबापतको कुल कर भने ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ। एनसेलले अहिलेसम्म २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ कर बुझाइसकेको छ। अब सात दिनभित्र ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७१ पैसा बुझाउनुपर्ने हुन्छ।

सर्वोच्च अदालतको पूर्ण पाठ आएलगत्तै सरकारले एनसेल प्रालि बिक्रीमा लाग्ने पुँजीगत लाभकर निर्धारण गरेको हो। अदालतले तीन महिनाभित्र कर निर्धारण गरी उठाउन सरकारलाई आदेश दिएको थियो।

टेलिया सोनेराले एक्जियटालाई एनसेलको ८० प्रतिशत सेयर बिक्री गरेको थियो। त्यसको कर तिर्नै नपर्ने भन्दै एनसेलले दाबी गरिरहेको थियो। त्यसपछि मुद्दा अदालतमा प्रवेश ग¥यो। प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशको बृहत् पूर्ण इजलासले एनसेल र एक्जियटाले लाभकर तिर्नुपर्ने फैसला गरेको थियो।

त्यही फैसलाका आधारमा ठूला करदाता कार्यालयले कर निर्धारण गरेको हो। एनसेलले यसअघि २०७३ वैशाख २६ र २०७४ जेठ २ मा गरी २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय रुपैयाँ कर र दुई अर्ब दुई करोड ६२ लाख ३४ हजार ८५१ रुपैयाँ विलम्ब शुल्क बुझाएको थियो।

विगतमा तिरिसकेको करलाई मिलान गरी कार्यालयले मंगलबार नयाँ कर निर्धारण गरेको हो। कर निर्धारणको पत्र एनसेल प्रालिले बुझिसकेको ठूला करदाता कार्यालयको दाबी छ।