एनसेलले तिर्नु पर्ने खरवौ रुपयाँ तिरेको छैन मन्त्रीलाई अरबको मोबाइलले टाउको दुखायो ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एनसेलले तिर्नु पर्ने खरवौ रुपयाँ तिरेको छैन मन्त्रीलाई अरबको मोबाइलले टाउको दुखायो ?



सञ्चार मन्त्री गोकुल बास्कोटा ज्यु, सात समुन्द्र पारिबाट यो परदेशीको नमस्कार !

यता गर्मी असाध्यै बढेको छ,पसिना,रगत र जवानी मरुभुमिको बालुवामा पग्लिरहेको छ। आसा छ यहाँले चढ्ने गाडीको AC बिग्रिएको छैन होला। पसिना,रगत जवानी सबै सकुशल नै छ होला किन कि तपाईँ त मन्त्री जस्तो मान्छे तपाईँ अस्वस्थ हुनुभयो भने देश अस्वस्थ हुन्छ ! अनि बसाई कस्तो छ तपाईँको ? मेरो चाहिँ एताको डेरा बालुवाघारीमा छ,हरेक रात तारा झर्छ अनि दिनमा पनि असाध्यै घाम झर्छ अनि उता नेपालको पनि उस्तै छ हालत,हजुरलाई के सुनाउनु पुरै आकाश नै झर्छ रे।

तपाईँको त क्वाटर भव्य आलिसान छ होला है, हुनु पनि पर्छ हामीले गर्व गर्ने अरू के नै छ र? चाहाना यति हो सपना देख्न पाइयोस मन्त्री ज्युको जस्तै एक दिन मेरो घर हुन्छ भनेर! भयो यी कुरा छाडौँ, अरू कुरा गरौँ। केही दिन यता सामाजिक सन्जलमा विदेशबाट फर्कँदा कामदारले ल्याउने मोबाइल करको दायरामा ल्याउँछु भन्नू भएछ अनि एउटा चिठ्ठी लेख्न मन लाग्यो । ए साँचै त्यो NCELL ले कर तिर्‍यो कि तिरेन? सम्झेर सोधी हालेको,सुन्नमा आएको जुन सरकार आए पनि बृफकेस बोकेर आउँछ रे ncell ले। यस्तो घिनलाग्दो काम चाहिँ नगर्नुस् है मन्त्री ज्यू तपाईँको इन्ज्जतमा दाग नलागोस् ,सधैँ कामना गर्छु।

मेरो त घरमा कुरा नभाको पनि ४ महिना भएछ।गाउँको खै रामे श्यामे कुन्नि कसको मोबाइलबाट माली गाईको दूध बेच्दा बचेको पैसाले रिचार्ज हालेर बा आफैले फोन गर्नु भएको थियो।गाउँका अरू केटाहरूले भनेका मेरो बा भन्नुहुन्छ रे~ मेरो छोरो आउने बेला फोन ल्याउँछ अनि साँघुरो त्रिपाल मुनि नै सुतेर परदेशी छोरा सँग फराकिला कुरा गर्छु ।ठ्याकै यही भन्नू हुन्छ रे! बिहे गरेको १५ दिन नबित्दै श्रीमती छोडेर आएको मेरो साथी राती सुत्ने बेला सम्झनामा सिरानी च्यापेर छुत्छ।उता उस्कि श्रीमतीको सिरानीमा यति गाजल लत्पतिएको छ रे अनि हरेक बिहान उठ्दा उसको आँसुले खाट वरिपरि भुईँ तप्केर डोब बसेको हुन्छ रे।मेरो अर्को साथी पनि छ।घरको एक्लो छोरो बुढा बा र आमा छोडेर यतै भासिएको ३ साल भएछ!पहिलो पाली घरमा जाँदा त २ दिन लगायत बुबाको हातको नङ काटिदिएको रे।

बिरामी आमाको कपाल लट्टा परेर कैचिले काट्न नै एक बिहान लागेको थियो रे।अर्को पनि साथी छ,३ महिने काखे छोरी छोडेर परदेश आएको २ साल भयो रे, ३ लाख ऋण भएर आएको रैछ अब अर्को महिना बाट साहुको रिन सक्दै छु दाइ भनेर फिस्स हाँस्थ्यो अनि भन्दै थियो यस पाली चाहिँ एउटा भिडियो खिच्ने मोबाइल लिएर जाने हो नेपाल जाँदा,पछि यता आएर सम्झना आंउदा छोरी र श्रीमतीको फोटो हेरेर भेडा चराउँदै दिन काट्न सहज हुन्छ। धेरै साथीको चाहना छ बा र श्रीमतीलाई मोबाइल,आमालाई घडी,छोराछोरीलाई रकेट पेन्सिल खेलौना ,आफन्तलाई चक्लेट अत्तर यस्तै यस्तै।कसलाई रहर नहोला र मन्त्री ज्यू ,२/३ साल पछि परदेश बाट फर्केको छोराले राम्रो समान र कन्तुर भर्ने पैसा नलिएर आओस् भन्ने! यो त खुसीको पाटो दुखको पाटो अर्कै छ, यस्ता परिवार पनि छ्न जो ठुलो रातो बाकसमा फर्केको लासलाई अँगालो हालेर विमानस्थलमा नै बर्बराउछ्न्।

ज्यानको बाजी राखेर झन्डै २९ % रेमिटेन्स सरकारलाई बुझाएर घर फर्केको एउटा गरिब नेपालीको छोराले ल्याएको मोबाइलमा तपाइको नजर लगाउन कुन नौतिकताले दिन्छ? जबाफ दिनोस् मन्त्री ज्यू?मेरो घरको खुसी खोस्न कुन नैतिकताले दिन्छ तपाईँलाई?घाम पानी दुख केही नभनि गोठमा दाम्लो ले बाँधिए झैँ परिवार साहुलाई साक्षी राख्दै विदेशमा साहुले बाँधेको एउटा गरिब किसानको छोरोले एउटा मोबाइल ल्याउँदा देख्न नसक्ने तपाईँको कति कठोर मन होला है? तपाईँ जन सवेक हो कि जन पिडक हो?

मन्त्री ज्यू तपाईँ सँग सार्है चित्त दुखेको छ। मेरो मात्र हैन सायद ३० लाख भन्दा बढी विदेशमा रहेका नेपालीको चित्त दुखेको छ।अति नगर्नुस् नेपाल सरकारको हामी पनि अन्न दाता हौ। आजलाई यति नै।

उही नेपाल आमाको परदेशी छोरो

शिव चालिसे(हाल युएई) ,सामजिक संजालबाट साभार