नयाँ शक्ति पार्टी नेपालको चौथो संघीय परिषद् बैठक बुधबारदेखि लुम्बिनीमा सुरु - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

नयाँ शक्ति पार्टी नेपालको चौथो संघीय परिषद् बैठक बुधबारदेखि लुम्बिनीमा सुरु



रुपन्देही– नयाँ शक्ति पार्टी नेपालको चौथो संघीय परिषद् बैठक बुधबारदेखि लुम्बिनीमा सुरु हुँदै छ। चौथो संघीय परिषद् बैठकको सबै तयारी पूरा भएको पार्टीले जनाएको छ। बैठकले पार्टीको वर्तमान अवस्थाबारे समीक्षा गर्नुका साथै भावी रणनीति र कार्यदिशा तय गर्ने जनाइएको छ।

बैठक बुधबारदेखि शनिबारसम्म चल्ने नयाँ शक्तिका प्रदेश ५ का इन्चार्ज कर्णध्वज केसीले बताए। नयाँ शक्ति पार्टीलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा कसरी स्थापित गर्ने भन्ने विषयमा बृहत् छलफल गर्ने र त्यही अनुरुप आगामी कार्यक्रमको खाका कोरिने उनको भनाइ छ।

देशमा नयाँ राजनीतिक प्रणालीको विकास गर्दै समावेसी, समानुपातिक लोकतन्त्र र समुन्नत समाजवादमा आधारित संघीयताका लागि बैठकबाट नयाँ कार्यदिशा तय गरिने पार्टीका प्रदेश संयोजक दानबहादुर चौधरीले बताए।

यसअघि कास्कीको ल्वाङमा सम्पन्न केन्द्रीय परिषद् बैठकको ‘अप्रेसन बैठक’का रुपमा संघीय परिषद् बैठक बस्न लागेको प्रदेश ५ का संगठन विभाग प्रमुख यज्ञ पोखरेलले जनाए। उनले विश्व शान्तिको मुहान लुम्बिनीबाट नेपालमा महसुस गरिएको वैकल्पिक राजनीति र समुन्नत समाजको बिकास नयाँ शक्तिले मात्रै गर्न सक्ने सन्देश दिनका लागि लुम्बिनीमा बैठक राखिएको बताए। बैठकले महाधिवेशनको मिति समेत तोक्ने बताइएको छ।

बैठकमा १२ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने पार्टीका केन्द्रीय परिषद् सदस्य मनिकर कार्कीले जानकारी दिए। उनले बैठकका लागि प्रतिनिधि तथा पर्यवेक्षक आउने क्रम जारी रहेको उल्लेख गर्दै बुधबार बिहानसम्म सबै आइपुग्ने जनाए।

उनले लुम्बिनीमा एक हजारको हाराहारीमा मानिस अट्ने हलको व्यवस्था नहुँदा टेन्टमुनि कार्यक्रम गर्नुपरेको गुनासो गरे। बैठकको पार्टी संयोजक बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ।