प्रचण्डले भित्र्याए नयाँ शक्तिकी केन्द्रीय सदस्य
काठमाडौँ : डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपालकी केन्द्रीय सदस्य सीमा विक सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन् ।
नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरम नेपालबीच एकीकरण भएको दुई दिनमै विक नेकपामा प्रवेश गरेकी हुन् । उनलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धुम्बाराहीमा आयोजित एक कार्यक्रममा पार्टीमा स्वागत गरे ।
सीमा दोस्रो संविधानसभामा जनमुक्ति पार्टीकी सदस्य थिइन् । जनमुक्ति पार्टी छाडेर उनी बाबुरामले गठन गरेको नयाँ शक्तिकी केन्द्रीय सदस्य भएकी थिइन् । नेकपा प्रवेशका क्रममा उनले पार्टी र सरकारले राम्रो काम गरिरहेको बताइन् ।