तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम गर्ने नयाँ सहमति - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

तीनै तहको निर्वाचनसम्म गठबन्धन कायम गर्ने नयाँ सहमति



काठमाडौ- नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम राख्ने विषयमा प्रधानमन्त्री तथा काँग्रेस सभापतिसँग सकारात्मक छलफल भएको बताएका छन् ।

आइतबार विभिन्न पार्टीका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन तीनै तहको निर्वाचनसम्म मिलेर जाने विषयमा आज मात्रै प्रधानमन्त्रीसँग आफूले कुरा गरेको बताएका हुन् । ‘पाँच दलीय गठबन्धन मिलेरै जाने आज पनि कुरा भएको छ । यो गठबन्धनलाई बलियो बनाउँदै तीनै तहको चुनावमा हामी जुट्नेछौ’, अध्यक्ष नेपालको भनाइ छ ।

उनले राज्य सञ्चालनमा अहिले पनि त्रुटि रहेको भन्दै त्यसलाई सुधार्नुपर्ने आवश्यकता रहेको बताए । उनले एमसीसी नेपाली समाजमा बहस विवादको विषय बनेको भन्दै जनताको भावना र एमसीसीबारे फैलिएका आशंका निवारण भएपछि अघि बढाउनुपर्ने बताए । ‘देशको हितमा कुठाराघात नहुने गरी हामी अघि बढ्न चाहिरहेका छैनौँ । सबैसँग मित्रता भाव राख्न चाहन्छौ । हाम्रो देश कुनै देशको रणभूमि बनाउन चाहँदैनौ’, अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले आफ्नो नेतृत्वको पार्टी वैधानिक रूपमा निर्माण भएको पार्टी भएको भन्दै यसमाथि कसैलाई धावा नबोल्न चेतावनी दिए । ‘हाम्रो पार्टी वैधानिक रूपमा निर्माण भएको पार्टी हो । यसमाथि कसैले धावा बोल्छ भने, औलो ठड्याउन खोज्छ भने हामी सहँदैनौ’, नेपालको चेतावनी छ । उनले कम्युनिस्ट पार्टीका विरुद्ध देखिएका गलत प्रवृत्ति विरुद्ध जुट्ने प्रतिबद्धता जनाउँदै केपी ओलीको नेतृत्वमा रहेको एमाले टायँटायँ फिस भएको राष्ट्रिय सभा निर्वाचनबाटै देखिएको अध्यक्ष नेपालको टिप्पणी छ ।