ओलीले बैठक बोलाउनै लाग्दा तीन नेताको गरे थप सहमति - Himal Post Himal Post
  • २५ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 10 2024
Logo

ओलीले बैठक बोलाउनै लाग्दा तीन नेताको गरे थप सहमति



काठमाडौँ- तीन दलका शीर्ष नेताहरुबीच विपक्षी गठबन्धनलाई थप बलियो बनाउने सहमति बनेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समुहलाई समेट्ने तयारी गरेकै बेला गठबन्धनका नेताहरूले यस्तो सहमति गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल समूहलाई एकताका लागि बैठकमा बोलाउने तयारी गरिरहेका बेला गठबन्धनका नेताहरूले यस्तो सहमति गरेका हुन्।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार छलफल भएको थियो । उक्त छलफलमा राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई थप बलियो बनाउने सहमति बनेको हो ।

नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेताहरुले ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्नेमा पुन: स्पष्टता जनाएका छन् । उनका अनुसार नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रममाथि पनि समीक्षा भएको छ ।

यसबाहेक नेताहरुले ‘आपसी सम्बन्ध बलियो बनाउने तथा एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता’ पनि जनाएको गौतमले बताए ।

कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउनसमेत नेताहरुले माग गरेका छन् ।

यसैगरी, गठबन्धनका नेताहरुले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल भएको र अदालतको निष्पक्षतामा र विश्वास प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा गठबन्धनका नेताहरुले आंशका गरेका छन् । उनीहरुले यस्ता निकायबाट निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण पनि गराएका छन् ।

यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना गरिएको पनि गौतमले बताए ।

छलफलमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी थिए ।