कोटेश्वर-भक्तपुरको बाटोमा निजी गाडी र मोटरसाइकललाई नयाँ नियम - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

कोटेश्वर-भक्तपुरको बाटोमा निजी गाडी र मोटरसाइकललाई नयाँ नियम



काठमाडौं– टिप्पर तथा ठूला गाडीको ठक्करका कारण दुर्घटना बढेपछि ट्राफिक प्रहरीले कोटेश्वर–जगाती सडकखण्डमा ठूला सार्वजनिक साधन र कार तथा मोटरसाइकललाई छुट्टै लेन छुट्याएको छ। टिप्पर, ट्रक तथा बसहरु साना सवारी साधनलाई तोकिएको लेनमा चल्न पाउने छैनन्।

आगामी साउन १ गतेदेखि लागू हुने गरी लेन तोकिएको हो। ट्राफिक महाशाखाका प्रवक्ता एसपी सुरेन्द्र मैनालीका अनुसार दुर्घटना न्यूनीकरणका लागि लेन छुट्याइएको हो। ‘साउन १ गतेदेखि ठूला तथा मालवाहक सवारी साधन पहिलो लेनमा मात्र चलाउनुपर्छ,’ उनले भने,‘दोस्रो लेनमा कार तथा मोटरसाइकल चालकहरुलाई छुट्याइएको छ।’

बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गृह मन्त्रालयमा भएको छलफलपछि यस्तो निर्णय भएको हो। ठूला सवारी साधनको ठक्करबाट भक्तपुरमा बारम्बार मोटरसाइकल तथा स्कुटरमा सवार मृत्युको ठक्करपछि यस्तो नियम लगाइएको हो। यसले साना सवारी साधन प्रयोग गर्नेहरुलाई राहत पुग्ने छ।

त्यस्तै टिप्परहरुलाई उपत्यकामा समयअवधि समेत तोकिएको छ। बिहान ५ बजेपछि तथा बेलुका ८ बजेअघि उपत्यकामा टिप्पर चलाउन नदिने निर्णय भएको छ। यद्यपी ‘पिक आवर’ बाहेकको समयमा चल्न दिनुपर्ने माग व्यवसायीले गरेका छन्।

त्यस्तै भक्तपुरको हाइवेमा कडाईका साथ टाइम कार्ड समेत लागू गर्न निर्देशन दिइएको छ। ठूलो बाटोमा ठूला सवारी साधनहरु तिव्र गतिमा चलाउने भएकाले त्यसलाई नियन्त्रण गर्न टाइम कार्ड लागू गरिएको हो।