गृहमा खगराज, संचारमा नैनकला, राजकिशोर उद्योग र वनमा नारदमनि: आजै सपथ
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल विस्तारको तयारी गरेका छन् । आज बिहिबार साँझ नै थपिएका मन्त्रीहरूलाई सपथ खुवाउने कार्यक्रम छ ।
सर्वोच्च अदालतमा संसदविघटनको मुद्दा सुनुवाईको क्रममै रहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् ।
शुक्रबार जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १० जनालाई मन्त्री बनाएका थिए। रिक्त रहेका सात मन्त्रालय उनले आफैसंग राखेका छन् । यिनै खाली रहेका मन्त्रालयमा आज मन्त्री नियुक्तिको तयारी भएको बालुवाटार स्रोतले बताएको छ ।
गृहमन्त्री खगराज अधिकारी बन्ने पक्का भएको बताइएको छ । यस्तै संचारमन्त्रीमा नैनकला थापा, वनमन्त्री नारदमनि राना, ज्वालाकुमारी शाह, कृषिमन्त्री, जसपाको राजकिशोर यादव उद्योगमंत्री बन्ने भएका छन्।
त्यस्तै गणेश पहाडी, सामान्य प्रशासनमन्त्री, प्रधानमन्त्री कार्यालय रहनेगरी मोहन बाँनियापनि मन्त्री बन्दैछन्, आशा विक भने राज्यमन्त्री बन्ने बताइएको छ ।
स्रोतका अनुसार बिहिबार साँझ नै मन्त्रीहरुको शपथ गराउने तयारी छ। ‘अन्य केहि बिषय नथपिएको खण्डमा आज नै मन्त्रीहरूको सपथ हुन्छ’ स्रोतले भन्यो ।