जेएनयू हमला भाजपाकै कार्यकर्ताले गरेको खुलासा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

जेएनयू हमला भाजपाकै कार्यकर्ताले गरेको खुलासा



एजेन्सी- भारतको राजधानी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा आइतबार साँझ हिंसात्मक हमला गर्ने राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ता भएको खुलेको छ ।

भारतीय सञ्‍चारमाध्यम स्क्रोल डटकमका अनुसार ह्वाट्सअप म्यासेजका आधारमा उक्त हमलामा संलग्‍न व्यक्तिहरु राष्ट्रिय स्वयंसेवक संघको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्का कार्यकर्ता भएको जनाएको छ । भारतीय विद्यार्थी परिषद भाजपा निकट संगठन हो ।

ह्वाट्सएपको म्यासेज ग्रुप पछ्याउँदा सत्तारुढ दल बीजेपीको वैचारिक अभिभावक राष्ट्रिय स्वयंसेवक संघकका कार्यकर्ता संलग्‍न भएको खुलेको हो

आइतबार साँझ आक्रमण गर्नुअघि ह्वाट्सअप ग्रुप म्यासेजमा उनीहरुले आक्रमणका बारेमा छलफल गरेका थिए । छलफलमा एक सहभागीले भनेका थिए, ‘सालो को होस्टेल मे घुस के तोडो’ (होस्टेलमा प्रवेश गर्दै उनीहरुलाई कुट्‍नुपर्छ) । जवाफमा अर्काले भनेका थिए, ‘वास्तवकै, यो समाधान गर्ने समय हो । यदि हामीले अहिले पिटेनौं भने कहिले रु कम्युनिस्टहरुले भ्रम फैलाएका छन् ।’

उक्त संवाद अगावै केही नकाबधारीहरु रडसहित विश्वविद्यालयको होस्टलमा प्रवेश गरिसकेका थिए । भिडियो फुटेज अनुसार उनीहरुले त्यहाँका विद्यार्थीहरुमाथि हिंसात्मक आक्रमण गरेका थिए ।

उक्त आक्रमण भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको वैचारिक अभिभावक राष्ट्रिय स्वयंसेवक संघको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषदले गरेको खुलेको छ । तर, परिषद्ले भने उक्त आक्रमणमा आफ्नो कुनै संलग्‍नता नभएको बताउँदै आरोप अस्वीकार गरेको छ ।

स्‍क्रोल डटकमले प्राप्त गरेका ह्वाट्सअप म्यासेजलाई पछ्याउँदै गर्दा उक्त म्यासेजमा ‘जेएनयूनाइट्स फर मोदी’ (मोदीका लागि जेएनयूमा एकता) अभियानका सदस्य रहेका सुरभ दुबे भएको पत्ता लगाएको छ ।

‘फ्रेन्ड्स अफ आरएसएस’ नाम दिइएको उक्त ह्वाट्सअप ग्रुपमा आइतबार बेलुका ५ : ३९ बजे वामपन्थी आतंकविरुद्ध समूहमा आबद्ध हुन आग्रह गरिएको थियो । यससँगै ‘उनीहरुलाई चुप लगाउन पिट्‍नुको विकल्प नभएको’ म्यासेजमा लेखिएको छ ।

गैर आरएसएर र गैर एबीभीपीका कार्यकर्ता पनि उक्त समूहमा जोडिएपछि उक्त ह्वाट्सअप म्यासेजहरु सार्वजनिक भएका थिए । आक्रमण भइसकेपछि राति ८ : ४१ बजे उक्त समूहमा गैर आरएसएसका कार्यकर्ता पनि जोडिएकोले लिंक साझा नगर्न अन्य साथीहरुलाई आग्रह गरिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार जेएनयु क्याम्पसमा ५० भन्दा बढी मानिस छिरेका थिए । उनीहरुले लाठी बोकेका थिए । अधिकांशले आफ्नो अनुहारमा कपडा बाँधेका थिए । क्याम्पसमा छिर्ना साथै उनीहरुले विद्यार्थीमाथि आक्रमण गरेका थिए ।

आक्रमणमा थुप्रै छात्र घाइते भएका छन् । दिल्ली सरकारले जेएनयू क्याम्पसमा घाइते भएका छात्रलाई उपचारको लागि लैजान ७ वटा एम्बुलेन्स पठाएको थियो ।

दिल्ली प्रहरीले जेएनयुको मुख्य गेटमा भारी मात्रामा प्रहरी तैनाथ गरेको छ । जेएनयुको गेट र बाहिर सो घटनालाई लिएर विरोध प्रदर्शन भइरहेको छ भने देशभर उक्त घटनाको निन्दा गरिएको छ ।

भारतीय राष्ट्रिय कांग्रेसले सत्तारुढले विश्वविद्यालयमा आतंक फैलाएको आरोप लगाएको छ । सम्भावित घटना हुन नदिन विश्वविद्यालय परिषरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।