नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै



काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेसम गुरुङले जानकारी दिनुभयो ।

“तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ”–उहाँले भन्नुभयो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको अध्यक्ष गुरुङले बताउनुभयो ।

यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिवार नै यो उत्सव परेको छ । यस अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।