बलात्कारका घटना न्यूनीकरण गर्न नयाँ अभियान
बुटवल,: सञ्चारीका समूह लुम्बिनीले बलात्कारका घटना न्यूनीकरण गर्न नयाँ अभियानको थालनी गरेको छ । समूहले बुटवलमा बलात्कार न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न हस्ताक्षर अभियान शुरु गरेको छ ।
समूहले विहीबार हस्ताक्षर सङ्कलन गरेको छ । सञ्चारीका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकासमन्त्री तथा सरकारका प्रवक्ता बैजनाथ चौधरीलगायत प्रदेशसभा सदस्यले पनि ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गर्नुभएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले चेतनाको अभाव वा अन्य कारणले गर्दा महिला बलात्कृत हुनबाट रोकिएको छैन भन्दै यसको न्यूनीकरणका लागि यस्ता दबाबमूलक क्रियाकलापको अपरिहार्यता रहेको बताउनुभयो ।
सङ्कलन गरिएको हस्ताक्षर प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने कार्यक्रम रहेको सञ्चारीका समूह लुम्बिनीकी अध्यक्ष अनमोलले जानकारी दिईन । रासस