सिंहदरबारमै नवराज सिलवाल र अमरेश सिंह झम्टिएपछी…
संसदको राज्यव्यवस्था समिति बैठकमा काँग्रेस सांसद अमरेशकुमार सिंह र नेकपा सांसद नवराज सिलवालबीच चर्काचर्की भएको छ ।
सिंहदरबारस्थित समिति कार्यालयमा बुधबार बसेको बैठकमा सिंहले नेपालमा सबैभन्दा बढी भ्रष्टाचार नेपाल प्रहरीमा हुने गरेको आरोप लगाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसमेतको उपस्थितिमा बसेको बैठकमा उनले प्रहरी संगठनभित्रको भ्रष्टाचार छानबिनको माग गरे ।
‘नेपाल प्रहरी सबैभन्दा भ्रष्ट संस्थाका रुपमा रहेको छ’, सिंहले भने, ‘अख्तियारले यसको छानबिन गर्नुपर्छ ।’ सिंहले अख्तियार राजनीतिक दलका नेताको छायाँमा सीमित भएको र ठूला माछा छाडेर साना माछा मात्र समाइने गरेको भन्दै आपत्ति जनाए ।
सिंहलाई बीचैमा रोकेर नेपाल प्रहरीका पूर्वडिआईजीसमेत रहेका नेकपा सांसद सिलवालले प्रतिवाद गरे । सिंहको भनाइ आपत्तिजनक रहेको भन्दै सिलवालले उक्त शब्द रेकर्डबाट हटाउन समिति सभापति शशि श्रेष्ठसँग माग गरे ।
अख्तियार पदाधिकारीले नै बैठकमा सबैभन्दा बढी भ्रष्टाचार मालपोत र नापी कार्यालयमा हुने गरेको तथ्य पेस गरेको चर्चा गर्दै सिलवालले सिंहको आरोप प्रहरी संगठनप्रति पूर्वाग्रहपूर्ण रहेको बताए । त्यसअघि अख्तियार प्रमुख नवीनकुमार घिमिरे र सचिव महेश्वर न्यौपानेले सबैभन्दा बढी भ्रष्टाचार मालपोत र नापी कार्यालयमा हुने गरेको रिपोर्ट पेस गरेका थिए ।
‘अमरेश माननीयको भनाइमा मेरो आपत्ति छ । जब अख्तियारले नै सबैभन्दा बढी भ्रष्टाचार मालपोत र नापीमा छ भनिरहेको छ भने उहाँले केका आधारमा प्रहरी सबैभन्दा बढी भ्रष्ट संस्था भएको आरोप लगाउनुभयो’, सलवालले भने, ‘उहाँको भनाइ आपत्तिजनक छ, त्यसलाई रेकर्डबाट हटाइयोस् ।’
बैठकमा स्थानीय तहमा भ्रष्टाचार बढेको भन्दै अख्तियारले भ्रष्टाचार रोक्न समिति र संसद पनि सक्रिय हुनुपर्ने सुझाव दिएको छ । यस्तै अख्तियारले वाइडबडी विमानमा भएको अनियमितताको पनि छानबिन गर्ने घिमिरेले बताए ।