विभिन्न ९ देशबाट नेपाल आउन प्रतिबन्ध लगाउने सरकारको निर्णय - Himal Post Himal Post
  • २२ पुष २०८१, सोमबार
  •      Mon Jan 6 2025
Logo

विभिन्न ९ देशबाट नेपाल आउन प्रतिबन्ध लगाउने सरकारको निर्णय



काठमाडौं । सरकारले विभिन्न ९ वटा मुलुकबाट नेपाल आउन रोक लगाएको छ । सरकारको यो निर्णयसँगै कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएका देशहरूबाट नेपाल आउन नपाइने भएको छ ।

सरकारले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लोसेथो, इसवाटिनी, मोजाम्बिक, मालावी र हङकङबाट नेपाल आउन रोक लगाएको हो । आज बिहिबार मध्यरातदेखि लागू हुने गरी यो नियम लागु हुनेछ ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताइएको छ । यसअघि सरकारले जोखिमयुक्त मुलुकमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको थियो ।

नेपालबाट विदेश जाने कर्मचारी पनि पूर्वस्वीकृति समेत लिनुपर्ने भएको छ । प्रतिबन्ध लगाइएका मुलुकको भ्रमण गरेर तीन साता पुरा नगरेका अन्य देशलाई नागरिकलाई पनि रोक लगाइएको छ ।

ट्रान्जिटमा रहेका यात्रुलाई भने नेपाल आएपछि आफ्नै खर्चमा सातदिन क्वारेन्टिनमा राख्ने निर्णय समेत भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमणविरुद्ध प्रतिकार्यको लागि विदेशबाट नेपाल आउने र नेपालबाट प्रस्थान गर्ने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश–२०७८ जारी गरेकोे थियो ।

विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरिएन्ट देखापरेसँगै सरकारले नेपालमा त्यसको रोकथाम र नियन्त्रणका लागि कोभिड संकट व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी)को नेतृत्वमा क्वारेन्टिन व्यवस्थापन टोली गठन गर्न निर्देशन दिएकोछ ।