नियमविपरीत नेसनल मेडिकल कलेज सञ्चालन गर्न दिने तयारी - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नियमविपरीत नेसनल मेडिकल कलेज सञ्चालन गर्न दिने तयारी



मेडिकल कलेज सञ्चालनको प्रक्रिया रोकिएपछि स्वास्थ्य मन्त्रालयले प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजलाई मापदण्डविपरीत तीन सय शय्याको अस्पताल सञ्चालनको अनुमति दिने तयारी गरेको छ।

जब कि, विज्ञहरूको टोलीले कलेजको घट्टेकुलोस्थित अपार्टमेन्टमा अस्पताल सञ्चालनका लागि न्यूनतम मापदण्डसमेत नरहेको प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयकी सचिव डा। पुष्पा चौधरीले कलेजलाई अस्पताल सञ्चालनको स्वीकृति दिन जोड गरेकी छिन् ।

तर, मन्त्रालयका सबै विभागीय प्रमुखले निर्णय फाइलमा पूर्वाधार नपुगेको भनेर टिप्पणी लेखे पनि सचिव चौधरी भने स्वीकृति दिन जोडबल गरिरहेकी छन्। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ।

निरीक्षण टोलीको सुझाबविपरीत स्वीकृति दिने तयारी
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं नेसनल मेडिकल कलेज प्रालिले स्वास्थ्य मन्त्रालयबाट निजी तथा गैरसरकारी स्वास्थ्य संस्था सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका, २०६१ तथा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिका, २०७० (दोस्रो संशोधन), २०७३० बमोजिम मन्त्रालयलाई तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन स्वीकृति पाऊँ भनी निवेदन दिएको थियो।

कलेजले २२ वैशाख ०७५ मा निवेदन दिएपछि मन्त्रालयले स्थलगत निरीक्षण गरी प्रतिवेदन पेस गर्न १० जनाको अनुगमन तथा निरीक्षण टोली गठन गरेको थियो।

२४ असार ०७५ मा टोलीले अनुगमन तथा निरीक्षण गर्‍यो। उक्त टोलीले तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन गर्न कुनै पनि मापदण्ड नपुगेको प्रतिवेदन तयार पारेर बुझाएको थियो।

विज्ञहरूले निरीक्षणपछि औँल्याए यस्ता कमजोरी
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० ९दोस्रो संसोधन, २०७३० अनुसार परिच्छेद ४ को दफा १६, उपदफा १३ को बुँदा १४ ९छ० मा अस्पतालको कुल निर्माण क्षेत्रफल प्रतिशय्या ५५ वर्गमिटरका दरले हुनुपर्ने उल्लेख छ।

तर, उक्त मेडिकल कलेजको अस्पताल भवन सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, काठमाडौंबाट भवन निर्माण स्वीकृति भइनसकेकोे भेटिएको निरीक्षण तथा अनुगमन समितिले बताएको छ।

यसैगरी, भवनको कुल क्षेत्रफल निवेदकले सञ्चालन अनुमति माग गरेबमोजिमका शय्याको अस्पताल सञ्चालन गर्न पर्याप्त नभएको, प्याथोलोजी, रेडियोलोजी तथा आवश्यक जनशक्ति तीन सय शय्याको अस्पताल सञ्चालन गर्न पर्याप्त नभएको, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइनसकेको निरीक्षण तथा अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा उल्लेख छ ।

यी सबै मापदण्ड पूरा गरेपछि मात्रै अस्पताल सञ्चालनको स्वीकृति प्रक्रिया अघि बढाउन सकिने समितिको राय छ।