राष्ट्रिय पोसाक पुनर्स्थापनाको आवाज बुलन्द बन्दै ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

राष्ट्रिय पोसाक पुनर्स्थापनाको आवाज बुलन्द बन्दै !



काठमाडौँ । राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले “औपचारिक राष्ट्रिय पोसाक आजको आवश्यकता” विषयमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार काठमाडौँस्थित कार्की बैंक्वेटमा भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता र नागरिक समाज लगायतको बाक्लो उपस्थिति थियो ।

विगत ५ वर्ष देखि विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको यो संस्थाले नेपालको राष्ट्रिय पोसाक खारेज गर्नु गम्भीर त्रुटि भएको र यसले नेपालीको पहिचान नै गुम्ने खतरा भएको ठहर गर्दै यो अभियान सञ्चालन गरेको हो ।

कार्यक्रममा गायक रामहरि न्यौपानेले गीतमार्फत राष्ट्रिय पोसाकको महत्त्व दर्साएका थिए, अभियानका अभियन्ता राजानन्द माण्डब्यले विदेशी दबाबका कारण तत्कालीन सरकारले राष्ट्रिय पोसाक हटाएको आरोप लगाएका छन् । साथै उनले राष्ट्रिय पोसाक पुनर्स्थापना नगरेसम्म यो अभियान नरोकिने पनि बताए । यसै गरी पूर्वसांसद लालबाबु यादव लगायतका वक्ताहरूले राष्ट्रिय पोसाक पुनर्स्थापनाको माग गरेका छन् ।

नेपालको साझा पोसाक अर्थात् राष्ट्रिय पोसाक संरक्षण तथा यसको पुनर्स्थापनाको लागि सुरु गरिएको यो अभियानको उद्देश्य भन्नु नै देशको औपचारिक राष्ट्रिय पोसाक को स्थापना गर्नु रहेको र यो आजको टड्कारो आवश्यकता भएको बताइएको छ ।

हरेक देशले विश्व सामु आफ्नो पहिचान र परिचयलाई चिनाउनको लागि कुनै न कुनै पोसाकलाई राष्ट्रिय पोसाकको रूपमा राखेको बेला नेपाल राष्ट्रिय पोसाक विहीन भएको छ। यसले देशको राष्ट्रिय अस्तित्व हराएको महसुस भएको पनि वक्ताहरूले बताएका थिए।

कार्यक्रममा संस्थाले अभियानमा सहभागी र सहयोगीहरूलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरेको थियो ।