नाइजेरियामा नरसंहार: दर्जनौंको ज्यान गयो, कैयौँ घर जलाइए - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

नाइजेरियामा नरसंहार: दर्जनौंको ज्यान गयो, कैयौँ घर जलाइए



एजेन्सी- हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ।

देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

प्रहरी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार मोटरसाइकलमा आएका दर्जनौ बन्दुकधारीले गाउँलेहरुलाई अन्धाधुन्ध आक्रमण गरेका थिए।

उनीहरुले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रबार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

आक्रमणकारीहरुले घरमा बसिरहेका स्थानीय बासिन्दालाई आक्रमण गर्नुका साथै उनीहरुको घरसमेत आगजानी गरेका छन्।

‘हतियारधारी आक्रमणकारीहरुले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरु नौ जनालाई डांकर गाउँमा हत्या गरेका छन्,’ कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहले भने।

मृत्यु भएका मध्ये अधिकांश बृद्धबृद्धा र बालबालिका रहेका छन्। आक्रमणकारीहरुले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा बृद्धबृद्धा र बालबालिका धेरै भएको अधिकारीहरुले जनाएका छन्।

आक्रमणकारीहरुले मानव हत्या र घरहरुमा आगजनी गरेकाले घटना दर्दनाक देखिएको प्रहरीको भनाई छ।

स्थानीय एक बासिन्दाले भने, ‘यति दर्दनाक र क्रुर घटना मैले जीवनमा अहिलेसम्म देखेको थिइनँ।’