१९५० को सन्धी खारेज गर्न नारायणकाजीले उठाए आवाज - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

१९५० को सन्धी खारेज गर्न नारायणकाजीले उठाए आवाज



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसंग सन् १९५० को सन्धि असमान र असान्दर्भिक भएको भन्दै त्यसलाई खारेज गरी तत्काल नयाँ सन्धि गर्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।

भारत नेपाल सम्बन्धका विषयमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले भने, ‘त्यो सन्धि असमान छ, अपमानजनक छ, हाम्रो सर्वभौमसत्तालाई कुण्ठित गरेको छ, त्यसका कारण १९५० को सन्धि विस्थापन गरेर नयाँ सन्धि गर्नुपर्छ।’

उनले सन् १९५० को सन्धि बताउँदै सार्वभौमिक समानताको सिद्धान्तको आधारमा भारतसँग नयाँ सन्धि गर्नु पर्ने बताएका हुन्। उनले नेपाललाई भारतको सुरक्षा छाता राख्ने जस्ता प्रावधान समेत रहेको यो सन्धिबाट भाग्न नसक्ने बताए ।

उनले विश्वको महाशक्ति राष्ट्र बन्न उद्त भारतले छिमिकी मुलुकको सम्बन्ध सुधार गर्नुको विकल्प नरहेको बताए। ‘हाम्रो मात्रै होइन, भारतको पनि आवश्यकता हो, महाशक्ति राष्ट्र बन्न उद्त भारतले विश्व जगतलाई देखाउनका लागि भारत वार्तामा बस्नै पर्छ’, उनले भने।

उनले सीमाका विषयमा अहिल्यै वार्ताको विकल्प सोच्न नसकिने बताए। उच्च राजनिितक तथा कूटनीतिक वार्ताको विकल्प नरहेको पनि उनले बताए । नेपालको तर्फबाट भारतलाई वार्तामा ल्याउने प्रयास भइरहेको श्रेष्ठले जानकारी गराए ।

इतिहासमा पहिलो पटक अतिक्रमित भूमि हाम्रो भनेर नक्सा प्रकाशन गरिसकेको छौँ’, उनले भने, ‘त्यसैको संसादबाट अनुमोदन पनि भइसकेको छ ।’ उनले वर्ताको लागि प्रमाण संकलनका काम पनि भइरहेको बताए।उनले राष्ट्रिय एकताका साथ प्रमाण सुरक्षित गर्दै भारतसँग वार्ता गरी सीमा समस्या समाधान गरिने बताए।